
खरसाङ, 15 जून (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टको नेतृत्वमा सोमवार खरसाङ बजारमा सर सफाई अभियान सम्पन्न गरियो। यस क्रममा सांसदले खरसाङको मोटर स्ट्याण्डबाट सफाई अभियान शुरू गरेर हिल कार्ट रोड हुँदै खरसाङ बजार क्षेत्रमा सफाई अभियान चलाएका थिए।
यस अभियानमा सांसद विष्ट आफै पनि हातमा पञ्जा लगाएर आनि झाडु बोकेर सफाईका लागि निक्लिएका थिए। उनको साथमा खरसाङका विधायक लगायत पार्टी कार्यकर्ताहरु पनि सक्रिय रूपमा सहभागी बने। यस क्रममा सांसदले प्रत्येक दोकान अघि देखिएका मैलाहरु टिप्दै दोकानेहरुलाई आफ्नो दोकान अघि सर सफाई गर्न निर्देशन पनि दिए।
सांसद बिष्टले सफाई अभियानको डेमो मात्र होइन, तर दैनिक जीवनमा पनि सर सफाई आवश्यक रहेको बताए। उनले यस सफाई अभियानमा खरसाङको जनता र भारतीय जनता पार्टीका प्रतिनिधिहरुले भाग लिएको बताए। उनले जनताको विकासको लागि सरकारले हरेक किसिमले काम गर्छ, तर जनता पनि जागरुक भएर सर सफाई गर्न आवश्यक छ भनी बताए।
हिन्दुस्थान समाचार / हनोक