
बरपेटा (असम), 14 जून (हि.स.)। बरपेटा जिल्लान्तर्गत भेल्ला बजारमा आज बिहान अचानक लागेको आगोले क्षेत्रमा व्यापक खैलाबैला मचायो। आगोको चपेटमा परी एउटा पोल्ट्रीको पसल खरानी भएको छ। स्थानीय मानिसहरूले बताएका छन्, पसलमा आगो लागेपछि एउटा भान्सा ग्यासको सिलेण्डर पनि विस्फोट भयो जसले गर्दा पसलमा राखिएका हाँस अनि कुखुराहरू जलेर नष्ट हुनका साथै एकजना पसले सहित दुई जना मानिसहरू जलेर घाइते भए।
पीड़ितहरूको पहिचान पोल्ट्री पसले बाबुल अली र उसका साथी फशियार अलीको रूपमा भएको छ। आगो पोल्ट्री पसलको छेउमा रहेका अन्य पसलहरूसम्म फैलियो जसले गर्दा भेल्ला बजारका धेरै वटा पसलहरू जलेर क्षतिग्रस्त भयो।
स्थानीय मानिसहरूको सहयोगमा बरपेटाबाट आएका दमकल वाहनहरूले कड़ा परिश्रम गरेर आगोलाई निभाए। घाइतेहरूलाई बरपेटा मेडिकल कलेज एण्ड अस्पतालमा भर्ती गरिएको छ। पुलिस दुर्घटनाको जाँचमा जुटेको छ। साथै नोक्सानको मूल्याङ्कन गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा