अन्तराष्ट्रिय ब्लड डोनर डेको अवसरमा खरसाङमा सचेतना कार्यक्रम साथै रक्तदान शिविरको आयोजना
अन्तराष्ट्रिय ब्लड डोनर डे


खरसाङ, 14 जून (हि.स.)। अन्तरराष्ट्रिय ब्लड डोनर डेको अवसरमा इण्डियन रेडक्रस सोसाइटी, खरसाङ शाखाले आइतवार यहाँको श्री सत्य साई खरसाङ समिति भवनमा एक कार्यक्रमको आयोजना गऱ्यो। इण्डियन रेडक्रस सोसाइटी खरसाङका सचिव बिजयसिंह सिञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा खरसाङ ब्लड ब्याङ्कका मेडिकल अफिसर डाक्टर पार्थ कुण्डु पोद्धारले अन्तरराष्ट्रिय ब्लड डे-बारे जानकारी गराए।

उनले रक्तदान गर्नुको महत्त्व र यसको फाइदाबारे पनि जानकारी दिए। यसै अवसरमा एक रक्तदान शिविरको पनि आयोजना गरिएको थियो, जसमा पुरूष 14 अनि महिला 11 गरी मोठ 25 जनाले स्वेच्छापूर्वक रक्तदान गरे। यस रक्तदान शिविरलाई सञ्चालन गर्नको निम्ति खरसाङ ब्लड ब्याङ्कबाट टेक्निशियनहरू उपस्थित रहेका थिए।

यस कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न सङ्घ-संस्था तथा समाज अनि विद्यालयका प्रतिनिधिहरू, शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू तथा रेडक्रस सोसाइटी, खरसाङका प्रतिनिधि अनि सदस्यहरू उपस्थित थिए।

कार्यक्रमबारे जानकारी गराउँदै इण्डियन रेडक्रस सोसाइटी, खरसाङ शाखाका सचिव विजय सिंह सिञ्चुरीले आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे। उनले आगामी दिनका कार्यक्रमहरूमा पनि यस्तै सहयोग र साथ प्राप्त हुने विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande