
गान्तोक, 14 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले भारत सरकारले आयुष मन्त्रालयमार्फत सञ्चालन गरेको १४ दिने निःशुल्क अनलाइन योग अभियान सफलतापूर्वक सम्पन्न गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएकोमा हर्ष र गौरव व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा देशमा योग तथा स्वास्थ्य प्रवर्द्धनमा नेतृत्वदायी भूमिकाको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। साथै, यस अभियानको आयोजना तथा सफल कार्यान्वयनमा योगदान पुर्याएकोमा आयुष मन्त्रालय र सिक्किम सरकारको आयुष विभागलाई धन्यवाद दिएका छन्।
मुख्यमन्त्रीले यस राष्ट्रिय उपलब्धिमा सिक्किमको योगदानबारे उल्लेख गर्दै मुख्यमन्त्रीले राज्यका १०,००५ जनाले कार्यक्रममा सहभागिता जनाएको जानकारी गराएका छन्। उनले यसलाई स्वास्थ्य, कल्याण तथा सचेत जीवनशैलीप्रति सिक्किमको प्रतिबद्धताको प्रतिबिम्ब बताएका छन्। उनले उत्साहपूर्वक सहभागिता जनाउने सम्पूर्ण सिक्किमवासीप्रति हार्दिक आभार व्यक्त गर्दै उनीहरूको सहभागिताले राज्यको गौरव बढाउनुका साथै योग र समग्र स्वास्थ्य प्रवर्द्धन गर्ने राष्ट्रिय अभियानलाई अझ सुदृढ़ बनाएको बताए।मुख्यमन्त्रीले “हर घर योग” को परिकल्पनालाई अगाडि बढाउँदै स्वस्थ जीवनशैलीको संस्कृतिलाई प्रोत्साहन गर्ने राज्य सरकारको प्रतिबद्धता पुनः दोहोर्याएका छन्। उनले सामूहिक प्रयासमार्फत अझ स्वस्थ, सुखी र समृद्ध भारत निर्माणमा निरन्तर योगदान पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल