
गान्तोक, 14 जून (हि.स.)। अन्तरराष्ट्रिय मानवाधिकार परिषद (आईएचआरसी), सिक्किमद्वारा वरिष्ठ साहित्यकार अमर बानियाँ लोहोरोलाई आज अभिनन्दन जनाइएको छ। आधिकारिक नाम अमर बहादुर छेत्री भएपनि हिन्दी तथा नेपाली साहित्य जगतमा उल्लेखनीय योगदान दिँदै आइरहेका उनी अमर बानियाँ ‘लोहोरो’ भनेर चिनिएका स्थापित साहित्य सर्जक तथा अनुवादक हुन्। आईएचआरसीका सदस्यसम्म रहेका उनले परिषदलाई विभिन्न प्रकारले टेवा पुर्याउँदै आइरहेका थिए। यसका साथै अनुवादमा साहित्य अकादमी पुरस्कार (2024) द्वारा पुरस्कृत भएवापद उनलाई आज अभिनन्दन जनाइएको आईएचआरसी, सिक्किम राज्य प्रभारी रविन राईले जनाएका छन्। साहित्यकार ‘लोहोरो’ लाई प्रभारी रविन राई, अध्यक्ष इन्द्रकुमारी छेत्री (नागरिक न्याय विभाग, सिक्किम), कृष्ण शाह (जिल्ला निर्देशक, आईएचआरसी) द्वारा हस्ताक्षरित अभिनन्दन-पत्र प्रदान गरिएको थियो।
यस अवसरमा प्रभारी रविन राई र अध्यक्ष इन्द्रकुमारी छेत्रीको साथमा आईएचआरसीका नाम्ची जिल्ला अध्यक्ष जिग्मी जी. काल्योन, गान्तोक जिल्ला अध्यक्ष जश्पी भिर्दी, पाकिम जिल्ला अध्यक्ष शुदर्शन राई र शिशिर गुरुङ (अध्यक्ष, खेलकुद) को साथमा अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
अभिनन्दन ग्रहणपछि साहित्यकार अमर बानियाँ ‘लोहोरो’ ले कार्यक्रमलाई सम्बोधन गर्दै आफूले साहित्य तथा समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप आईएचआरसीद्वारा अभिनन्दित हुन पाउँदा प्रफुल्लित बनेको बताए। आगामी दिनहरूमा पनि हामी आपस्तमा मिलेर समाजोत्थानका कार्यहरू गर्नुपर्ने विचार व्यक्त गर्दै यसका लागि आफू सधैँ तत्पर रहेको पनि बताए।
यसरी नै आईएचआरसी प्रभारी रविन राईले 20 वर्ष अघिदेखि नै साहित्यकार ‘लोहोरो’ सँग परिचित रहेको अनि आईएचआरसीसँग पनि लामो समयदेखि संलग्न रहेर काम गर्दै आएको बताए। साहित्यकार ‘लोहोरो’ लाई चिनाइरहनु नपरे पनि आईएचआरसीले उहाँको योगदानको कदर गर्दै कृतज्ञता व्यक्त गर्न चाहेको पनि बताए।
यसरी नै नागरिक न्याय विभागाध्यक्ष इन्द्रकुमारी छेत्रीले धन्यवाद ज्ञापनको क्रममा साहित्यकार ‘लोहोरो’ लगायत आईएचआरसीलाई सहयोग पुर्याउन सबैप्रति आभार व्यक्त गरेकी थिइन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल