उत्तर सिक्किममा सांस्कृतिक र कलात्मक विकासलाई सुदृढ गर्दै 'मङ्गन ड्रिम डान्स एकेडेमी' को उद्घाटन
'मङ्गन ड्रिम डान्स एकेडेमी' को उद्घाटन


मङ्गन, 14 जून (हि.स.)। सिक्किम कला, संस्कृति र धरोहर विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राईले आज मङ्गनमा सांस्कृतिक र कलात्मक विकासलाई बढावा दिने नयाँ प्रयास 'मङ्गन ड्रीम डान्स एकेडेमी' को उद्घाटन गरेका छन्। कार्यक्रममा मङ्गन नगर पञ्चायतकी अध्यक्ष छिरिङ डोमा भोटिया, उत्तर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रिन्जिङ नामग्याल भोटिया, अल सिक्किम डान्स इन्स्टिच्युट एसोसिएसनकी अध्यक्ष सुष्मा छेत्री आदि उपस्थित थिए।

कार्यक्रमका प्रमुख अतिथि राईले आफ्नो सम्बोधनमा मङ्गन ड्रिम डान्स एकेडेमीका सदस्यहरूलाई महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा बधाई दिए। उनले समाजमा नृत्य र सांस्कृतिक गतिविधिको महत्त्व, विशेष गरी बालबालिकाको समग्र विकासमा जोड दिए। यस्ता गतिविधिहरूले युवा पुस्तामा रचनात्मकता, आत्मविश्वास, अनुशासन र सांस्कृतिक चेतना जगाउन मद्दत गर्ने कुरामा उनले जोड दिए।

उनले भर्खरै उद्घाटन गरिएको एकेडेमीले आकांक्षी कलाकारहरूका लागि बहुमूल्य मञ्चको रूपमा काम गर्ने र मङ्गनको सांस्कृतिक विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। अध्यक्ष राईले सिक्किममा कला र संस्कृतिको प्रवर्द्धनका लागि राज्य सरकारले गरेका विभिन्न पहलहरूको बारेमा प्रकाश पारे। सरकारले राज्यका कलाकार र सांस्कृतिक समूहहरूलाई अवसर, मञ्च, मान्यता र आर्थिक सहयोग प्रदान गर्दै आएको बताए, जसले उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न, सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न सक्षम बनाएको छ।

उद्घाटन कार्यक्रममा मङ्गन ड्रिम डान्स एकेडेमीले कला, संस्कृति र सामुदायिक विकासको प्रवर्द्धनमा योगदान र समर्थनका लागि विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान जनाइएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande