गजलकार धिरेन संघर्षको गजल संग्रह 'सादा सिउँदो' र म्युजिक भिडियोको लोकार्पण
गजलकार धिरेन संघर्षको गजल संग्रह 'सादा सिउँदो' र म्युजिक भिडियोको लोकार्पण


गोरुबथान, 14 जून (हि.स.)। गोरुबथान क्षेत्रका गजलकार धिरेन संघर्षको गजल संग्रह 'सादा सिउँदो' र 'सम्हाल आफुलाई' नामक म्युजिक भिडियोको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। लालिमा परिवार अलगढा कालेबुङको आयोजनामा सम्पन्न उक्त लोकार्पण कार्यक्रम गोरुबथानको बीएडीपी हलमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता समीर राई शान्तिले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एवं साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका सदस्य सुवास सोताङ उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वुलियम फिपन, पूर्व सभासद एवं प्रकाशक चन्द्र योञ्जन, सूर्यमणि राई, बिनोद पराजुली लगायत अन्यहरु उपस्थित रहेका थिए। गजलकार निर्दोषिका तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण महेश्वर प्रधानले राखेका थिए। कार्यक्रममा गजलकार धिरेन संघर्षद्वारा लिखित चौथो गजल कृति 'सादा सिउँदो' र 'सम्हाल आफुलाई' नामक म्युजिक भिडियोको सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु लगायत गजलकार धिरेन संघर्ष र उनका पिता रवि छेत्री र छोरा आकृष्ट छेत्रीको बाहुलीबाट लोकार्पण गरियो।

कार्यक्रममा म्युजिक भिडियोका कलाकारहरु, गायक -गायिका, संगीतकार र सहयोग गर्ने सबैलाई स्मारिका प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा 'सम्हाल आफुलाई' म्युजिक भिडियोमाथि कवि एवं नायक पुष्कर सिंगरले टिप्पणी राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि सोताङले आफ्नो सम्बोधनमा आज गोरुबथानमा गजलको भेट भएको बताउँदै सायद गोरुथानमा यो गजलको पहिलो कार्यक्रम हो भनी बताए। उनले भने, गजलकारको संघर्ष उपनाम सुहाएको छ। किनभने उनी इमान्दार युवक र गाउँमा परिश्रम गरेर जैविक जीवन जिएर सिर्जना कार्यमा पनि लागेका युवा हुन्।'

विशिष्ट अतिथिहरु क्रमैले प्रकाशक चन्द्र योञ्जन, बिनोद पराजुली, करूणा छेत्री, सभाध्यक्ष समीर राई शान्ति आदिले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा मनोज बोगटी, सञ्जीव छेत्री, अरुण साम्पाङ, निर्दोषिका तामाङ, सुवास ठकुरी आदिले गजल वाचन गरे। त्यसरी नै कविहरु प्रवीण खालिङ, गोपाल ढकाल, सूर्य रखाली राई लगायत अन्यहरुले पनि कविता वाचन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande