
दराप, 14 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) बेङलुरूमा भएको सिक्किमे चेलीको कथित निर्मम हत्यालाई गम्भीरतापूर्वक संज्ञानमा लिएको छ। एसडीएफले पीडित तथा शोकाकुल परिवारलाई समुचित न्याय र सहयोग पुऱ्याउनु पर्छ भनी सरकार समक्ष माग पनि राखेको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष अम्बर राईले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, 'सिक्किममा अहिले काम गरिखाने योग्यको परिवेश नरहेको हुँदा राज्यबाट युवा जमात आफ्नो भविष्यको सुखद सपना बोकी अन्य राज्यतिर पलायन हुनुपर्ने स्थिति बनेको छ। यसै पलायनका क्रममा देन्तामकी ऐती हाङमा सुब्बा पनि बेङलुरूमा पुगिन्। सुन्दर सपनाहरूलाई अधुरै छोडी हत्याराको शिकार बनिन्।'
उनले यो एउटा मात्र यस्तो घटना होइन भन्दै यस्ता घटनाहरू बारम्बार घटिरहेका छन् भनी दाबी गरेका छन्। अर्कातिर, उनले सरकारमाथि यस सम्बन्धमा कुनै ठोस कदम नचालेको आरोप लगाएका छन्। उनले सरकार जिम्मेवारीदेखि भागेर युवाहरूलाई भुलाउने विभिन्न कन्सर्टहरू आयोजना गर्नमा अल्मलिरहेको पनि आरोप लगाएका छन्।
उनले सिक्किममा एसडीएफ पार्टीको सरकार हुनु हो भने कुनै युवा भाई-बहिनीहरू यसरी घर छोडी टाडा गई आफ्नो जीवनलाई नै सङ्कटमा पारेर जीवीकोपार्जन खोजिरहन पर्ने थिएन भनी दाबी गरेका छन्। ऐती हाङमाले यथाशीघ्र न्याय पाउनु पर्छ भन्दै उनले शोकाकुल परिवारप्रति हार्दिक शोक-समवेदना प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल