सिक्किमकी छोरी अञ्जली अधिकारीले कमर्शियल पाइलट तालिम पूरा गरिन्, मुख्यमन्त्रीले दिए बधाई
सिक्किमकी छोरी अञ्जली अधिकारीले कमर्शियल पाइलट तालिम पूरा गरिन्, मुख्यमन्त्रीले दिए बधाई


गान्तोक, 15 जून (हि.स.)। सिक्किमी छोरी अञ्जली अधिकारीले राजस्थानको अभ्यान्ना एभिएसन एकेडेमीमा आफ्नो कमर्शियल पाइलट तालिम सफलतापूर्वक पूरा गरेकी छिन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले अञ्जली अधिकारीको उपलब्धिप्रति खुशी व्यक्त गर्दै उनले आफ्नो परिवार र सम्पूर्ण राज्यलाई गौरवान्वित तुल्याएको बताएका छन्। अञ्जली पाकिम जिल्लाको नाम्चेबुङस्थित नवगाउॅं निवासी ममता बस्नेतकी छोरी हुन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा युवा प्रतिभाहरूलाई उनीहरूका चयनित क्षेत्रमा उत्कृष्टता र भावी पुस्ताहरूका लागि प्रेरणाको रूपमा उभिएको देख्नु ठूलो गर्व र आनन्दको कुरा रहेको उल्लेख गरेका छन्। उनले सिक्किम सरकार अञ्जली जस्ता प्रतिभाशाली र योग्य व्यक्तिहरूको लागि अनुकूल वातावरण निर्माण गर्न, उनीहरूलाई अवसर, प्रोत्साहन र आवश्यक सहयोग प्रदान गरेर उनीहरूका आकांक्षाहरू पछ्याउन र उनीहरूको पूर्ण क्षमतालाई महसुस गर्न सशक्त बनाउन समर्पित रहेको बताएका छन्।

मुख्यमन्त्रीले अञ्जली चाँडै एक्रोन एभिएसन ब्याङ्ककमा ए320 प्रकारको रेटिङ कोर्स गर्न ब्याङ्कक जानेछिन्, जुन उनको व्यावसायिक एयरलाइन पाइलट बन्ने यात्रामा महत्वपूर्ण कोसेढुङ्गा हो भनी जानकारी पनि गराएका छन्। उनले अञ्जली अधिकारीलाई हार्दिक बधाई तथा भावी प्रयासहरूका लागि शुभकामना व्यक्त गरेका छन्। उनले अझ ठूलो सफलता हासिल गरुन् र राज्यभरका अनगिन्ती युवा आकांक्षीहरूलाई आत्मविश्वास र समर्पणका साथ उनीहरूको सपनाहरू पछ्याउन प्रेरित गरून् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande