भाजपाद्वारा थोङलिङको घटनालाई गम्भीरतापूर्वक लिँदै बाँकी दोषीहरूलाई पक्राउ गर्नुपर्ने माग
भाजपाद्वारा थोङलिङको घटनालाई गम्भीरतापूर्वक लिँदै बाँकी दोषीहरूलाई पक्राउ गर्नुपर्ने माग


गान्तोक, 15 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले चन्द्रहाङ सुब्बामाथिको भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निन्दा गरेको छ। प्रदेश भाजपाले दोषीहरूमाथि शीघ्र कारबाहीको माग गरेको छ भने पीडित गाउँलेहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटियाले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, '१० जून, २०२६ मा बिहान लगभग १० बजी चन्द्रहाङ लिम्बू विद्यालयमा बालबालिकालाई पुर्‍याएर घर फर्किने क्रममा राङयाङ ब्रिजमा नजिक तीन जना मुखुण्डो लगाएका व्यक्तिहरूले आक्रमण गरे। आक्रमणकारीहरूले ढुङ्गा र अन्य घातक हतियार प्रयोग गरी उनीमाथि निर्मम कुटपिट गरेका थिए, जसका कारण उनी गम्भीर रूपमा घाइते भएका छन्। हाल उनको उपचार नाम्ची जिल्ला अस्पतालमा भइरहेको छ।' उनले हालसम्म एक जनालाई मात्र पक्राउ गरिएको र बाँकी संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न ठोस कदम नचालिएको आरोप लगाएका छन्। यस अवस्थाले स्थानीय बासिन्दाहरू आक्रोशित बनेको तथा थोङलिङ, मुनियु गाउँ र कार्थोकका बासिन्दाहरू भेला भई सोमबारे पुलिस चौकी अगाडि प्रदर्शन समेत गरेको उनले बताएका छन्।प्रवक्ता भोटियाले पीडित चन्द्रहाङ सुब्बा, उनका परिवार तथा आफन्तहरूसँग पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले थोङलिङ, मुनियु गाउँ र कार्थोकका नागरिकहरूले उठाएको न्यायको माग लोकतान्त्रिक, न्यायोचित र आवश्यक रहेको भन्दै त्यसलाई समर्थन गरेका छन्। पुलिसले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिई थप सुरक्षा बल तथा विशेष जाँच टोली परिचालन गरेर बाँकी दोषीहरूलाई तत्काल पक्राउ गर्नुपर्ने उनले माग गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande