
- पर्यटन प्रवर्द्धनका लागि सिक्किम-नेपालबीच सम्झौतामा हस्ताक्षर
रिनाक, 15 जून (हि.स.)। सिक्किम र नेपालबीच कृषि-पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धतासहित सम्झौता भएको छ। पाकिम जिल्लाअन्तर्गत रिनाक बजारमा सोमबार आयोजित तीन दिवसीय प्रथम अन्तरराष्ट्रिय कृषि पर्यटन महोत्सव २०२६-को समापन समारोहमा नेपाल र सिक्किमका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
रिनाक टुरिजम डेभलपमेन्ट सोसाइटी, डिसकभर तिमी र मार्ताम टुरिजम डेभलपमेन्ट सोसाइटीको संयुक्त तत्वावधानमा आयोजित यस महोत्सवमा नेपाल, भुटान र भारतका कृषि पर्यटनसँग आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समापन समारोहमा सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेती मुख्य अतिथि थिए।
समारोहलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले पर्यटन क्षेत्रमा अपार सम्भावना भएको सिक्किमले पर्यटनलाई कृषिसँग जोड्नु आजको आवश्यकता रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम र सामर्थ सिक्किम’ अवधारणालाई व्यवहारमा उतार्न गाउँलाई पर्यटनसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको उल्लेख गरे।
उनकाअनुसार? पर्यटकहरू सिक्किमको शान्त वातावरण, स्वच्छ हावापानी र जैविक खानपानको अनुभव लिन यहाँ आउने भएकाले उनीहरूलाई होमस्टेको व्यवस्थासहित स्थानीय संस्कृति, परम्परा र जैविक खानाको अनुभव दिलाउनुपर्ने आवश्यकता छ। उनले सिक्किम, भुटान र नेपालबीच पर्यटन प्रवर्द्धनमा सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै रिनाकवासीले यस दिशामा सक्रिय भूमिका खेल्नुपर्ने सुझाउ दिए।
नेपालको प्रतिनिधित्व गर्दै इलाम, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले त्रिदेशीय पर्यटन प्रवर्द्धनमा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे। उनले सिक्किम विश्वकै एक नमूना जैविक राज्य भएको उल्लेख गर्दै यो महोत्सव केवल पर्यटन प्रवर्द्धनका लागि मात्र नभई त्रिदेशीय मित्रता, सहकार्य र साझा समृद्धिको प्रारम्भ पनि भएको बताए।
हिमाली क्षेत्रका सिक्किम, भुटान र नेपालको भाषा, संस्कृति, धर्म र परम्परामा धेरै समानता रहेको उल्लेख गर्दै उनले सीमापार पर्यटन अवधारणालाई सुदृढ गर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए। साथै, नेपाल सरकार र पर्यटन मन्त्रालय यस दिशामा प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे।
भुटान च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका कार्यकारी तथा सल्लाहकार रिक्सिन जाम्सोले सिक्किममा अन्तरराष्ट्रिय कृषि पर्यटन महोत्सव आयोजना गरेर भुटानलाई समेत जोडिएकोमा सिक्किम सरकारप्रति आभार व्यक्त गरे। उनले भुटानको विकास केवल आर्थिक वृद्धिमा मात्र सीमित नभई कृषि, वातावरण संरक्षण र सुशासनमा आधारित रहेको बताए।
उनका अनुसार दिगो विकास र आर्थिक समृद्धिको अवधारणामा आधारित यस प्रकारका कार्यक्रमहरू फलदायी हुनेछन्। उनले तीन देश, तीन जिल्ला र तीन समष्टिलाई समेटेर गरिएको यो प्रयास सराहनीय रहेको उल्लेख गर्दै आगामी पुस्तालाई दिगो विकासतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
तीन दिवसीय महोत्सवअन्तर्गत रिनाक बजारमा स्थानीय स्वयं सहायता समूह तथा प्रगतिशील कृषकहरूले जैविक उत्पादन, परम्परागत खानपान, हस्तशिल्प तथा हतकला उत्पादनहरूको प्रदर्शनी गरेका थिए।
समारोहमा रिनाक टुरिजम डेभलपमेन्ट सोसाइटीका अध्यक्ष विनोद सुब्बाले स्वागत मन्तव्य दिँदै सोसाइटी स्थापना उद्देश्य र हालसम्मका गतिविधिबारे जानकारी दिए। उनले मुख्यमन्त्रीको सुझावअनुसार सोसाइटी गठन गरी पर्यटनमुखी कार्यहरू अघि बढाइएको बताए।
कृषि विभागकी उपनिर्देशक रिबिका गुरुङले कृषि पर्यटन विषयमा वार्ता प्रस्तुत गरिन्। सिक्किम सरकारको संस्कृति विभाग, रिनाकको पीकेके डान्स एकेडेमी, सिम्फनी कर्डलगायत विभिन्न जीपीयूबाट आएका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रम गगन प्रधानले सञ्चालन गरेका थिए भने ओएसडी डी.बी. छेत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
समारोहमा मुख्यमन्त्रीका सल्लाहकार विष्णु खतिवडा, जिल्ला अध्यक्ष लाडेन ल्हामु भोटिया, उपाध्यक्ष प्रभा प्रधान, जिल्लापाल परि विष्णोई, जिल्ला अधिक्षक पारु रुचाल, विभिन्न विभागीय अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल