
गान्तोक, 15 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको आगामी 22 जून, 2026 को दिन पालन गरिने क्रान्ति दिवसलाई लिएर आज दक्षिण सिक्किमको नाम्चीस्थित एसडीएफ पार्टी कार्यालयमा एउटा उच्चस्तरीय सभा बस्यो। सभामा एसडीएफ पार्टीले सिक्किमे जनताको पक्षमा थालेको सम्पूर्ण क्रान्तिबारे चर्चा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सभामा क्रान्ति दिवस समारोह समिति गठन गरियो। आगामी 22 जूनका दिन दक्षिण सिक्किम जोरथाङ पार्टी कार्यालयमा सम्पूर्ण क्रान्ति दिवस पालन गरिने निधो गरियो। उक्त समितिका अध्यक्ष जोरथाङ पार्टी कार्यालय, प्रशानका वरिष्ठ उपाध्यक्ष पीएस सुब्बा र नाम्ची कार्यालय, प्रशासनका वरिष्ठ उपाध्यक्ष एमबी गुरूङलाई मूल संयोजकका रूपमा चयन गरियो। यसरी नै सबै जिल्लाका जिल्ला प्रभारी तथा जिल्ला समितिका अध्यक्षहरूलाई स्वतः संयोजकका रूपमा चयन गरियो।
विज्ञप्तिमा भनिएको छ, 'एसडीएफले सिक्किमेको जीत र सिक्किमको हितमा शुरू गरेको क्रान्ति सिक्किमे क्रान्ति हो। पवन चामलिङको विचार हो, “क्रान्ति कहिल्यै निसन्तान हुँदैन।“ समयले फेरि सिक्किमलाई त्यस मोडमा पुऱ्याएको छ जुन मोडबाट सिक्किमले क्रान्तिको मूलबाटो नसमाएको खण्डमा सिक्किमे जाति नै इतिहासको रछ्यानमा बिलाएर जानेछ।'
हिन्दुस्थान समाचार / बिशाल