
खरसाङ, 15 जून (हि.स.)। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी मंगलबार खरसाङ आइरहेका छन्। उनी राज्यको मुख्यमन्त्री बनेपछि पहिलोपल्ट पहाड आइरहेका छन्। योभन्दा पहिले उनी पहाडमा प्राकृतिक आपदाको समयमा निरीक्षणमा आएका थिए।
जानकारी अनुसार, मुख्यमन्त्री शुभेन्दु अधिकारी बिहान हेलिकप्टरमा खरसाङ आउने छन् र बिहान 11 बजी स्थानीय मन्दिरभियट खेल मैदानमा हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ मुख्यमन्त्री अधिकारीले विभिन्न सामाजिक संघ संस्थाहरु र एनजीओका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने उनलाई पहाडका विभिन्न राजनीतिक दलहरूले सम्मान जनाउने छन्। मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन्।
त्यसपछि, उनी खरसाङको गोथल्स साइडिङ्गमा हुने एक सरकारी कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ मुख्यमन्त्री अधिकारीको बाहुलीबाट विभिन्न सरकारी योजनाहरुमार्फत् लाभार्थीहरुलाई लाभ हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।
मुख्यमन्त्रीको कार्यक्रमलाई लिएर तयारी पूरा गरिएको छ। उक्त तयारीको आज दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका विधायक सोनाम लामा लगायत अन्यले निरीक्षण गरेका छन्। सांसद राजु विष्टले खरसाङमा पत्रकारहरुलाई भने, राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेपछि पहिलोपल्ट पहाड आइरहेका छन्। उनको स्वागतमा सबै दार्जिलिङ, कालेबुङ, खरसाङ क्षेत्रका जनतालाई उपस्थित भइदिने अनुरोध गर्दछौं।
सांसद राजु विष्टले पहिलेकी मुख्यमन्त्री पहाडी आउँदा कोही पनि खुशी हुँदैन थिए, तर अहिले नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारी पहाड आउँदा सबैमा उत्साह र जोश देखिएको बताए। उनले भने, 'मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको मन्टिभियट खेल मैदानमा हुने कार्यक्रम र गोथल्स साइडिङ्गमा हुने सरकारी कार्यक्रममा सहभागी हुनेछन्। यस अवसरमा मुख्यमन्त्रीले विभिन्न सरकारी योजनाहरुमार्फत् लाभार्थीहरुलाई लाभ हस्तान्तरण गर्नेछन्।'
हिन्दुस्थान समाचार / हनोक