
गुरुग्राम (हरियाणा), १६ जून (हि.स.)। राष्ट्रिय सुरक्षा तथा कानुन-व्यवस्थालाई ध्यानमा राख्दै गुरुग्राम पुलिसले अवैधरूपमा बसोबास गरिरहेका बंगलादेशी नागरिकविरुद्ध ठूलो कारबाही गरेको छ। क्राइम ब्राञ्च सेक्टर-३९ को टोलीले विशेष जाँच अभियान सञ्चालन गरी १३ जना अवैध बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट बंगलादेशी नागरिकता सम्बन्धी कागजातहरू बरामद भएका छन्। पुलिस प्रवक्ता सन्दीप कुमारका अनुसार, कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई बंगलादेश फिर्ता पठाइने (डिपोर्ट) छ।
पलिस उपायुक्त (अपराध) हितेश यादवको नेतृत्वमा प्राप्त विशेष सूचनाका आधारमा यो कारबाही गरिएको हो। टोलीले गुरुग्रामका विभिन्न निर्माणाधीन स्थल तथा बस्तीहरूमा छापा मारेर शंकास्पद व्यक्तिहरूको पहिचान तथा नागरिकता प्रमाणीकरण गरेको थियो। अनुसन्धानका क्रममा ती सबै व्यक्ति कालियागञ्ज सीमाना हुँदै बंगलादेशी एजेन्टको सहयोगमा अवैधरूपमा भारत प्रवेश गरी मजदुरका रूपमा बसोबास गरिरहेको खुलेको छ।
पुलिस उपायुक्त हितेश यादवले नागरिकहरूलाई आफ्ना भाडावाल, घरेलु सहयोगी, कर्मचारी तथा होटल एवं व्यावसायिक प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूको अनिवार्य रूपमा पुलिस प्रमाणीकरण (भेरिफिकेशन) गराउन आग्रह गरेका छन्। उनले आरडब्ल्यूए (रेजिडेन्ट वेलफेयर एसोसिएसन) तथा स्थानीय बासिन्दासँग पनि सहयोगको अपील गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी