
सूरत, 17 जून (हि.स.)। गुजरातको सूरत, जामनगर र वडोदरा महानगरपालिकाको कार्यालयमा बम विस्फोट गराउने धम्की पाएपछि प्रशासन र पुलिस विभागमा त्रास फैलिएको छ। धम्कीपूर्ण सन्देश आएलगत्तै सुरक्षा निकायहरू सक्रिय भएका छन् र सम्बन्धित नगरपालिका परिसरमा कड़ा सुरक्षा व्यवस्था लागू गरिएको छ
प्रारम्भिक जानकारी अनुसार, सबैभन्दा पहिले जामनगर नगरपालिकामा बम राखेको भन्दै धम्कीपूर्ण इमेल आएको थियो। सूचना पाएलगत्तै नगरपालिकाको भवन तत्काल खाली गरी पुलिस, बम डिस्पोजल स्क्वाड र डग स्क्वाडको टोलीले व्यापक खोजी कार्य शुरू गऱ्यो।
त्यसैगरी वडोदराको मुख्य अदालत र पछि सूरत नगर निगममा बम विस्फोट गराउने धम्कीले प्रशासनमा कोकोहोलो मच्चियो। सुरतमा वरिष्ठ पुलिस अधिकारी, बम डिस्पोजल स्क्वाड र डग स्क्वाडको टोलीले निगमको भवन, पार्किङ क्षेत्र र वरपरको परिसरमा गहिरो छानबिन गरे।
घटनाका कारण निगमका कर्मचारी र कामका लागि आएका नागरिकबीच केही समय तनावको वातावरण बन्यो। यद्यपि पुलिसले स्थिति नियन्त्रणमा रहेको बताउँदै अफवाहमा ध्यान नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।
सुरत साइबर क्राइम ब्रान्चले धम्की दिने इमेल कसले र कहाँबाट पठाएको हो भन्ने खोजी भइरहेको बताएको छ। अहिले सबै ठाउँमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ र अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी