
कोलकाता, 17 जून (हि.स.)। पश्चिम बंगालमा सत्ता परिवर्तनपछि तृणमूल कांग्रेसले अर्को असहज स्थितिको सामना गरिरहेको छ। पार्टी नेतृत्वसँग नजिक रहेका धेरै नेता, समर्थक र प्रभावशाली व्यक्तिसँगको दुरी बढ्दै गएको चर्चाबीच अहिले महानगर स्थित तृणमूलको अस्थायी पार्टी कार्यालय खाली गर्ने घटनाले राजनीतिक खेमामा नयाँ चर्चा चर्काएको छ।
कुनै समय तृणमूल सुप्रीमो एवं पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको निकट मानिने व्यापारी मनोतोष साह उर्फ मन्टु साहाले गत मई महिनामा कोलकाताको पूर्वी महानगर (ईएम) बाइपासको टोप्सिया स्थित तृणमूल कांग्रेसको अस्थायी कार्यालय ('तृणमूल भवन' भनिन्छ) खाली गर्न सूचना दिएका थिए। यो बहुतले भवनको मालिक मन्टु साह आफै हुन्। लामो समयदेखि यही भवनको एक भागबाट पार्टीका विभिन्न सांगठनिक गतिविधि सञ्चालन हुँदै आएको थियो।
सूत्रहरू अनुसार, पार्टीलाई भवन खाली गर्न दुई महिनाको समय दिइएको थियो। तोकिएको समयसीमा सकिनुअघि नै कार्यालय अन्यत्र सार्नसक्ने राजनीतिक खेमामा चर्चा भएपनि अन्ततः त्यही भयो। मंगलवार राति भवनका दुई तला पूर्ण रूपमा खाली गरियो। बाँकी रहेका हिस्साबाट पनि कार्यालयको सामग्री र अन्य स्रोत हटाउने प्रक्रिया पनि शुरू भएको छ।
यो अस्थायी कार्यालयको राजनीतिक महत्व पनि कम छैन। 2021 को विधानसभा चुनाउपछि तृणमूल राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले तपसिया स्थित पुरानो 'तृणमूल भवन' लाई आधुनिकीकरण गर्न पहल गरेका थिए। पार्टी मुख्यालयलाई अत्याधुनिक र संस्थागत रुप दिने उद्देश्यले पुरानो कार्यालयबाट अस्थायी रुपमा सार्ने निर्णय भएको थियो। त्यसैबेला महानगरपालिकाको यो बहुतले भवनलाई अस्थायी पार्टी कार्यालयको रुपमा छनोट गरिएको थियो।
दक्षिण कोलकाताका डेकोरेटर व्यवसायी मन्टु साहको राजनीतिक र व्यावसायिक प्रभाव लामो समयदेखि चर्चाको विषय बनेको छ। राजनीतिक खेमाको एक वर्गले तृणमूलका विभिन्न सभा, जुलुस र कार्यक्रमहरूमा उनको संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ। तर पछिल्लो समय उनी र तृणमूलबीचको दूरी बढ्दै गएको संकेत देखिएको थियो। पार्टीका कार्यक्रममा सेवा बन्द गर्नदेखि लिएर कार्यालय खाली गर्ने सूचनासम्मका कैयौं घटनाले यो सम्बन्धमा तिक्ततालाई उजागर गरेको छ।
यद्यपी मनोतोष साहाले भने उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यस्तो अवस्थामा उनको यो निर्णयको वास्तविक कारणबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेको छ। तृणमूलका लागि यो घटनाक्रम यस्तो समयमा भएको हो जब पार्टीले पहिले नै विभिन्न विवाद, अनुसन्धान र राजनीतिक चुनौतीहरूको सामना गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी