
कार्बी आङ्लोङ (असम), २६ जून (हि.स.)। केन्द्र सरकारको पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय अन्तर्गत सञ्चालित उत्तर-पूर्व विशेष पूर्वाधार विकास योजना (एनईएसआईडीएस) अन्तर्गत असमका पूर्वी कार्बी आङ्लोङ र गोलाघाट जिल्लालाई जोड्ने धनसिरी नदीमाथि निर्माण गरिएको नयाँ आरसीसी पुल र पक्की सडकले ४० भन्दा बढी गाउँका करिब ४५ हजार बासिन्दाको जीवनमा व्यापक परिवर्तन ल्याएको छ। यस पूर्वाधार परियोजनाले स्थानीय आदिवासी समुदाय तथा ग्रामीण बासिन्दाको जीवनलाई सहज, सुरक्षित र समृद्ध बनाएको छ।
स्थानीय बासिन्दा नुवलश्यामका अनुसार, विगत ३०-४० वर्षदेखि उनीहरू बाँसको अस्थायी पुलको भरमा आवतजावत गर्न बाध्य थिए। सडक कच्ची र उबडखाबड भएकाले सामान्य अवस्थामा पनि यात्रा निकै कठिन थियो। वर्षायाममा नागाल्याण्डको लायसेङबाट बग्ने धनसिरी नदीमा बाढी आएपछि सम्पूर्ण क्षेत्र देशका अन्य भागसँग पूर्ण रूपमा विच्छेद हुन्थ्यो। बिरामी, ज्येष्ठ नागरिक तथा गर्भवती महिलालाई अस्पताल पुर्याउन सानो डुङ्गाको सहारा लिनुपर्थ्यो। अहिले बलियो आरसीसी पुल र बार्है महिना सञ्चालन हुने पक्की सडक बनेपछि दशकौँदेखिको समस्या अन्त्य भएको उनले बताए।
यस परियोजनाले कृषिक्षेत्रमा पनि उल्लेखनीय सुधार ल्याएको छ। पहिले सडक र पुलको अभावका कारण कृषिजन्य उत्पादन समयमै बजारसम्म पुर्याउन नसकिँदा किसानले ठूलो घाटा बेहोर्नुपर्थ्यो। अहिले भने नयाँ सडक सञ्चालनमा आएपछि स्थानीय किसानको कृषि आम्दानीमा करिब ६० प्रतिशतले वृद्धि भएको छ।
शिक्षा क्षेत्रमा पनि सकारात्मक परिवर्तन देखिएको छ। पहिले वर्षायाममा बाढी र हिलोका कारण विद्यार्थीहरू महिनौँसम्म विद्यालय तथा कलेज जान सक्दैनथे। अहिले सुरक्षित र बार्है महिना सञ्चालन हुने सडकका कारण विद्यार्थी नियमित रूपमा शिक्षण संस्थामा पुग्न थालेका छन्। यसले विद्यार्थीको उपस्थितिमा तथा उच्च शिक्षाप्रतिको आकर्षणमा करिब ४० प्रतिशतले वृद्धि भएको छ। हाल दैनिक करिब १० हजार मानिस यस सडकमार्फत सहज रूपमा आवतजावत गरिरहेका छन्।
व्यापारिक गतिविधिमा पनि उल्लेखनीय विस्तार भएको छ। अहिले साँझ ६ बजीपछिसमेत दैनिक २०० भन्दा बढी ठूला ट्रक चियापत्ती, अगरको काठ, बाँस र रबर बोकेर देशका विभिन्न बजारतर्फ जाने गरेका छन्। १०२ मिटर लामो आधुनिक पुल निर्माण भएपछि सम्पूर्ण क्षेत्रको यातायात व्यवस्था मजबुत भएको छ।
अर्का स्थानीय बासिन्दा अभिजित धुलेले पुल बनेपछि धनसिरी नदीका दुवै किनारका बासिन्दाबीच वर्षभरि प्रत्यक्ष सम्पर्क कायम भएको बताए। उनका अनुसार, अहिले बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि बाहिर पठाउँदा कुनै डर वा असहजता छैन। स्वास्थ्य सेवा पनि सहज भएको छ र आपत्कालीन अवस्थामा एम्बुलेन्स गाउँसम्मै पुग्न थालेको छ।
यस क्षेत्रमा मुख्य रूपमा चिया, रबर, बाँस तथा अगरको काठ उत्पादन गरिन्छ। नयाँ सडक र पुल सञ्चालनमा आएपछि ढुवानी खर्च उल्लेखनीय रूपमा घटेको छ भने कृषिजन्य उत्पादनको क्षति पनि रोकिएको छ। कार्बी, अहोम, नेपाली, बोडो, मिसिङ, खामयाङ तथा चिया बगान समुदायका किसानले अहिले दिफू, गुवाहाटी, गोलाघाट तथा छिमेकी राज्य नागाल्याण्डका प्रमुख बजारसम्म सहज पहुँच पाएका छन् र आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरिरहेका छन्।
यातायात र सम्पर्क व्यवस्था सुधारिएपछि अन्तर-जिल्ला व्यापार तथा स्थानीय साना उद्योगहरूको व्यावसायिक गतिविधिले तीव्र गति लिएको छ। यसले स्थानीय युवा तथा स्वयं सहायता समूहका लागि रोजगारी र स्वरोजगारका नयाँ अवसर सिर्जना गरेको छ। साथै, सरकारी कल्याणकारी योजना, विकास कार्यक्रम तथा सार्वजनिक वितरण प्रणाली जस्ता सेवाहरू पनि गाउँसम्म प्रभावकारी रूपमा पुग्न थालेका छन्।
सुरक्षा, कानुन-व्यवस्था तथा क्षेत्रीय पर्यटनको विकासका दृष्टिले पनि यो परियोजनाले अत्यन्त रणनीतिक तथा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। लामो समयसम्म उग्रवाद र विद्रोही गतिविधिबाट प्रभावित यस संवेदनशील सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई गस्ती सञ्चालन गर्न भौगोलिक कठिनाइको सामना गर्नुपर्थ्यो। तर, आधुनिक पुल निर्माण भएपछि असम-नागाल्याण्ड सीमामा हुने अवैध गतिविधि, तस्करी तथा घुसपैठ नियन्त्रणका लागि प्रहरी र अर्धसैनिक बलको तीव्र आवतजावत सुनिश्चित भएको छ।यसका साथै, यो सहज सडकले स्थानीय ग्रामीण पर्यटन र सांस्कृतिक सम्पदालाई पनि नयाँ उचाइमा पुर्याएको छ। पुल सञ्चालनमा आएपछि यहाँबाट करिब ७ किलोमिटर दूरीमा रहेको प्रसिद्ध गरम पानी (नाम्बोर) वन्यजन्तु अभयारण्यको प्राकृतिक तातोपानी मुहानसम्म पर्यटकको पहुँच निकै सहज भएको छ। त्यस्तै, यहाँबाट केवल ८ किलोमिटर टाढा देवपानीमा अवस्थित ऐतिहासिक तथा प्राचीन दुर्गा मन्दिरमा आउने श्रद्धालु, तीर्थयात्री र भक्तजनको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। यसबाट स्थानीय होटल, यातायात तथा हस्तकलासम्बन्धी व्यवसायमा संलग्न व्यक्तिहरूको आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ।परियोजनाको प्रशासनिक तथा प्राविधिक विवरणअनुसार, असम सरकारको लोक निर्माण विभाग (सडक), बारपाथर डिभिजनले ‘आरसीसी पुल नम्बर ३/१ तथा एप्रोच रोड’ राष्ट्रिय राजमार्ग-३९ (सिलोनिजान स्टेट डिस्पेन्सरी) देखि पनियाका बस्ती हुँदै धनसिरी पारघाटसम्म कुल ४.०० किलोमिटर लम्बाइमा निर्माण गरेको हो। यसअन्तर्गत मुख्य पुलको लम्बाइ १०२ मिटर रहेको छ। २० अप्रेल २०२२ मा २०.५९ करोड़ रुपियाँको स्वीकृत लागतसहित परियोजनाले प्रशासनिक तथा वित्तीय स्वीकृति प्राप्त गरेको थियो। निर्माण कार्य १९ अक्टोबर २०२२ मा सुरु भएको थियो। विभागले परियोजना सम्पन्न गर्ने आधिकारिक समयसीमा अक्टोबर २०२५ तोकेको भए पनि प्रशासनिक सक्रियताका कारण यसलाई निर्धारित समयभन्दा अगावै जनवरी २०२५ मा शतप्रतिशत सम्पन्न गरी सर्वसाधारणलाई हस्तान्तरण गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी