
नयाँ दिल्ली, 08 जुलाई (हि.स)। भारत र आसियान (दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन) सदस्य राष्ट्रहरूबीचको आर्थिक साझेदारी थप सुदृढ़ बनेको छ। आर्थिक वर्ष २०२५-२६ मा भारत र आसियान राष्ट्रहरूबीचको द्विपक्षीय व्यापार बढे़र १२८ अरब अमेरिकी डलर पुगेको छ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार, आसियान राष्ट्रहरूसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ़ बनाउन भारतले जुलाई ६ देखि १० सम्म १३औँ आसियान-भारत व्यापार सम्झौता (एआईटीआईजीए) संयुक्त समिति (जेसी) तथा त्यससँग सम्बन्धित बैठकहरूको आयोजना गरिरहेको छ। यी बैठकहरू एआईटीआईजीएको पुनरावलोकनअन्तर्गत भइरहेको वार्ताको प्रगतिको समीक्षा गर्न केन्द्रित छन्। मन्त्रालयका अनुसार, आसियान भारतका प्रमुख व्यापारिक साझेदारहरूमध्ये एक हो र भारतको कुल वैदेशिक व्यापारको करिब ११ प्रतिशत हिस्सा आसियानसँगको व्यापारले ओगटेको छ।
मन्त्रालयले जनाएको छ, नयाँ दिल्लीस्थित वाणिज्य भवनमा भइरहेको बैठकहरूले भारत र आसियानबीचको सहयोगलाई अझ गहिरो बनाउने, आपसी समझदारी सुदृढ़ गर्ने तथा रचनात्मक संवादलाई अघि बढाउने महत्वपूर्ण मञ्चको रूपमा काम गरिरहेका छन्। संयुक्त समितिको बैठकमा विभिन्न उपसमितिहरूलाई रणनीतिक मार्गदर्शन प्रदान गरिएको छ र एआईटीआईजीएको पुनरावलोकनअन्तर्गत बाँकी रहेका अध्यायहरू यथाशीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ।
वार्ताको गति कायम राख्न उपसमितिहरूलाई निर्धारित समयसीमाभित्र आफ्नो कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। साथै, सहमत समयसीमाभित्र ठोस उपलब्धि हासिल गर्न परस्पर सहकार्य गर्न पनि प्रोत्साहित गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, एआईटीआईजीए संयुक्त समितिअन्तर्गत गठन गरिएका आठ उपसमितिमध्ये तीनवटाको बैठक हाल १३औँ संयुक्त समिति बैठकसँगै सञ्चालन भइरहेको छ। तीमध्ये भन्सार प्रक्रिया तथा व्यापार सहजीकरण सम्बन्धी उपसमिति, राष्ट्रिय व्यवहार तथा बजार पहुँच सम्बन्धी उपसमिति, र वस्तुको उत्पत्ति सम्बन्धी नियम (रुल्स अफ ओरिजिन) सम्बन्धी उपसमिति रहेका छन्।
जुलाई ७ मा सम्पन्न १३औँ एआईटीआईजीए संयुक्त समिति बैठकको सह-अध्यक्षता भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत वाणिज्य विभागका अतिरिक्त सचिव नितिन कुमार यादव तथा मलेसियाको लगानी, व्यापार तथा उद्योग मन्त्रालयकी उपमहासचिव (व्यापार) मस्तुरा अहमद मुस्तफाले गरेका थिए। उक्त बैठकमा आसियानका सबै सदस्य राष्ट्र-ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनामका प्रतिनिधिमण्डलहरूको सहभागिता रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल