मुख्यमन्त्रीले कर्मचारी र पेन्सनधारीलाई २ प्रतिशत डीए र डीआर वृद्धि घोषणा गरे
PS Tamang


गान्तोक, १५ अगस्त (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य सरकारका कर्मचारीका लागि महँगी भत्ता (डीए) तथा पेन्सनधारीका लागि महँगी राहत (डीआर) मा २ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन्। यो वृद्धि जनवरीदेखि जून २०२६ सम्मको अवधिका लागि लागू हुनेछ भने यसको बक्यौता रकम दशैं २०२६ अघि भुक्तानी गरिनेछ।

राजधानीको पाल्जोर स्टेडियममा आज आयोजित ८०औँ स्वतन्त्रता दिवसको राज्यस्तरीय समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले सिक्किम सरकारले केन्द्र सरकारको डीए र डीआर संशोधनलाई अनुसरण गर्दै आएको बताए। राष्ट्रिय सुरक्षालाई राज्य सरकारको प्रमुख प्राथमिकता बताउँदै उनले सिक्किम पुलिसका कन्स्टेबल तथा वन तथा वातावरण विभागका फरेस्ट गार्ड पदमा पूर्व अग्निवीरहरूका लागि २०-२० प्रतिशत आरक्षण सुनिश्चित गरिएको जानकारी दिए। भाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत राज्यका ४६ सीमावर्ती गाउँमा पूर्वाधार विकास भइरहेको पनि उनले बताए।

मुख्यमन्त्रीले सिक्किमको वास्तविक जीएसडीपी वृद्धि पछिल्ला आठ वर्षमा औसत १२.६ प्रतिशतभन्दा बढी रहेको तथा जीएसडीपी २०१८-१९ को ₹२८,४०२ करोड़बाट बढेर २०२६-२७ मा करिब ₹६२,९७३ करोड़ पुग्ने अनुमान गरिएको जानकारी दिए। आगामी वर्षहरूमा १३ प्रतिशतभन्दा बढी वार्षिक आर्थिक वृद्धि हासिल गर्दै ‘विकसित सिक्किम @2047’ को लक्ष्यतर्फ अघि बढ्ने सरकारको उद्देश्य रहेको उनले बताए।

उनले स्वास्थ्य क्षेत्रमा एसटीएनएम अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्यक्रम शुरु भएको तथा हेलन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजमा २०२६-२७ देखि वार्षिक १०० एमबीबीएस विद्यार्थी भर्ना गर्ने अनुमति प्राप्त भएको जानकारी दिए। शिक्षातर्फ सिक्किमलाई मई २०२६ मा भारतको पाँचौँ पूर्ण साक्षर राज्य घोषणा गरिएको उपलब्धि पनि उनले उल्लेख गरे।

कृषितर्फ समयमै केसीसी बाली ऋण तिर्ने योग्य किसानले प्रभावकारी रूपमा १ प्रतिशत ब्याजदरमा ऋण पाउने र ‘मेरो अलैंची, मेरो धन’ कार्यक्रममार्फत ठूलो अलैंची खेतीको पुनरुत्थानको प्रयास जारी रहेको बताए।

महिला सशक्तीकरणतर्फ आमा सशक्तीकरण योजना २०२७ देखि ५० हजार आमासम्म विस्तार गरिने बताए। उनले २०२६ को शहरी स्थानीय निकाय निर्वाचनमा ६४ मध्ये ३५ महिला पार्षद निर्वाचित भएको र गान्तोक नगर निगममा पहिलोपटक महिला मेयर तथा उपमेयर निर्वाचित भएको बताए।

उनले वातावरण संरक्षण, पर्यटन, पूर्वाधार र खेलकुदलाई प्राथमिकता दिँदै स्वर्ण जयन्ती एकीकृत खेल तथा सांस्कृतिक गाउँ, फिफा स्तरको फुटबल स्टेडियम, इन्डोर स्टेडियम तथा आधुनिक सम्मेलन केन्द्र निर्माणको योजना पनि घोषणा गरियो। समारोहमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande