
उज्जैन, १६ अगस्त (हि.स.)। मध्य प्रदेशको उज्जैनमा विश्वप्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वर मन्दिरको शिखरमा विराजमान तथा वर्षमा केवल एकपटक नागपञ्चमीका दिन खुल्ने भगवान् श्री नागचन्द्रेश्वर मन्दिरको ढोका आज मध्यराति १२ बजी खुल्नेछ। पूजा-अर्चनापछि भगवान् नागचन्द्रेश्वरको दर्शनको क्रम शुरु हुनेछ। यो सोमबार राति १२ बजीसम्म लगातार २४ घण्टा चल्नेछ।
महाकालेश्वर मन्दिर परिसरमा रहेको प्राचीन नागचन्द्रेश्वर मन्दिरको ढोका वर्षमा केवल एकपटक नागपञ्चमीको अवसरमा २४ घण्टाका लागि खोलिन्छ। यस वर्ष १७ अगस्तमा नागपञ्चमी परेको छ। यसपटकको संयोग निकै अद्भुत छ, किनभने नागपञ्चमीकै दिन सावनको तेस्रो सोमबार पनि परेको छ।
यस दुर्लभ संयोगका कारण यहाँ लाखौँ श्रद्धालु पुग्ने अनुमान गरिएको छ। आस्थाको यस महासंगमलाई सहज र सुरक्षित बनाउन प्रशासन तथा मन्दिर समितिले व्यापक तयारी गरेको छ।
मन्दिर समितिका अनुसार, नागपञ्चमीका लागि आइतबार मध्यराति १२ बजी श्री नागचन्द्रेश्वर मन्दिरको ढोका खोलिनेछ। त्यसपछि महानिर्वाणी अखाडाका महन्त विनीत गिरि महाराजले पूजा-अर्चना गर्नेछन्। पूजनपछि भगवान् नागचन्द्रेश्वरको दर्शनको क्रम शुरु हुनेछ। मन्दिरको ढोका सोमबार राति १२ बजीसम्म खुला रहनेछ। यस अवधिमा श्रद्धालुहरूले भगवान् नागचन्द्रेश्वरको दर्शन गर्न सक्नेछन्।
नागपञ्चमीका दिन भगवान् नागचन्द्रेश्वरको त्रिकाल पूजा हुनेछ। १७ अगस्तको दिउँसो १२ बजी सरकारका तर्फबाट पूजा गरिनेछ भने साँझ ७:३० बजी भगवान् महाकालको साँझको आरतीपछि मन्दिरका पुजारी-पुरोहितहरूले भगवान् नागचन्द्रेश्वरको पूजा-अर्चना गर्नेछन्। त्यसपछि राति १२ बजी पुनः महानिर्वाणी अखाडाले पूजा गरेपछि मन्दिरको ढोका बन्द गरिनेछ।
महाकाल मन्दिरका सहायक प्रशासक आशीष पलवाडियाले नागपञ्चमीका दिन भगवान् नागचन्द्रेश्वर तथा भगवान् श्री महाकालेश्वरको दर्शनका लागि मन्दिर प्रशासनले छुट्टाछुट्टै व्यवस्था गरेको जानकारी दिए। श्रद्धालुहरूको सुविधाका लागि छुट्टाछुट्टै प्रवेश तथा निकास मार्ग निर्धारण गरिएको छ। सबै प्रवेशद्वारमा जुत्ता राख्ने स्ट्यान्ड, क्लोक रुम, हराएको-पाएको केन्द्र तथा शीघ्र दर्शन टिकट काउन्टरसमेत रहनेछन्।
भगवान् श्री नागचन्द्रेश्वर मन्दिरको दर्शन व्यवस्था
सामान्य दर्शन : भगवान् नागचन्द्रेश्वरको निःशुल्क दर्शन गर्ने दर्शनार्थीहरूलाई कर्कराज पार्किङस्थित सामान्य दर्शनार्थीहरूको द्वारबाट प्रवेश दिइनेछ। यहाँबाट दर्शनार्थीहरू भील समाज धर्मशाला, गोण्ड मोहल्ला, चारधाम, हरसिद्धि चौराहा र बडा गणेश हुँदै प्रवेशद्वार नम्बर-४ बाट मन्दिर परिसरमा प्रवेश गर्नेछन्। त्यसपछि विश्रामधाम हुँदै भगवान् नागचन्द्रेश्वरको दर्शन हुनेछ। दर्शनपछि चौबीस खम्बा माता मन्दिर रोड हुँदै श्रद्धालुहरू पुनः कर्कराज पार्किङतर्फ जानेछन्।
शीघ्र दर्शन : भगवान् नागचन्द्रेश्वरको शीघ्र दर्शनका लागि दर्शनार्थीहरू हरसिद्धि चौराहाबाट बडा गणेश मन्दिरको अगाडिबाट मन्दिरको गेट नम्बर-५ हुँदै विश्रामधाम पुग्नेछन् र भगवान् नागचन्द्रेश्वरको दर्शन गर्नेछन्। दर्शनपछि चौबीस खम्बा माता मन्दिर रोड हुँदै हरसिद्धि पालतर्फ जाने व्यवस्था गरिएको छ।
भगवान् श्री महाकालेश्वर मन्दिरको व्यवस्था
सामान्य दर्शन : सावन महिनाको तेस्रो सोमबारसँग परेको नागपञ्चमीका अवसरमा भगवान् महाकालको निःशुल्क दर्शनका लागि श्रद्धालुहरूलाई त्रिवेणी संग्रहालयस्थित त्रिवेणी प्रवेशद्वारबाट प्रवेश दिइनेछ। त्यसपछि श्रद्धालुहरू नन्दी द्वार, मानसरोवर फ्यासिलिटी, गणेश मण्डप र कार्तिक मण्डप हुँदै दर्शन मार्गमा पुग्नेछन्। दर्शनपछि एम्बुलेन्स गेटबाट निकास तथा पिनाकी द्वारबाट बाहिर जाने व्यवस्था रहनेछ।
महाकाल शीघ्र दर्शन : शीघ्र दर्शनका लागि श्रद्धालुहरूको प्रवेश नीलकण्ठ द्वारबाट निर्धारित गरिएको छ।
अग्रभागमा उमा-महेश्वर, गर्भगृहमा नागचन्द्रेश्वर
महाकालेश्वर मन्दिरको शिखरमा रहेको भगवान् श्री नागचन्द्रेश्वरको मन्दिरमा भक्तहरूले वर्षमा केवल एकपटक नागपञ्चमीका दिन दर्शन गर्न पाउँछन्। मन्दिरको अग्रभागमा उमा-महेश्वरको प्राचीन मूर्ति रहेको छ। यो ११औँ शताब्दीको अत्यन्त दुर्लभ मूर्ति हो, जसमा भगवान् शिव र माता पार्वती दस मुख भएका शेषनागको शय्यामा विराजमान हुनुहुन्छ। धार्मिक मान्यताअनुसार यस मन्दिरको दर्शन गरेमा सर्प दोष, कालसर्प योग आदिबाट मुक्ति प्राप्त हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी