
मुम्बई, १६ अगस्त (हि.स.)। महाराष्ट्रको कोलाबास्थित नेभी नगरमा भारतीय नौसेनाका एक नाविक (नौसैनिक), उनकी श्रीमती र दुई साना बालबालिकाको घरमै मृत अवस्थामा फेला परेपछि सनसनी फैलिएको छ। मृत बालबालिकामध्ये एकको उमेर दुई महिना र अर्काको तीन वर्ष रहेको बताइएको छ।
नेभी नगर पुलिसले चारै जनाको शव बरामद गरी पोस्टमार्टमका लागि पठाएको छ र घटनाबारे जाँच शुरु गरेको छ।
घटनाको जाँच गरिरहेका पुलिस अधिकारीका अनुसार, शनिबार नेभी नगरस्थित नेभी क्वार्टरबाट एक नाविक, उनकी श्रीमती र दुई बालबालिकाको शव फेला पारिएको थियो। प्रारम्भिक रूपमा नाविकले आत्महत्या गरेको आशंका गरिएको छ।
यद्यपि, दुवै बालबालिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार, उनीहरूलाई विष दिइएको हुनसक्ने आशंका गरिएको छ। तर मृत्युको वास्तविक कारण पोस्टमार्टम तथा फरेन्सिक परीक्षण प्रतिवेदन आएपछि मात्र खुल्ने पुलिसले जनाएको छ।
पुलिसले घटनास्थलबाट आवश्यक फरेन्सिक प्रमाण सङ्कलन गरेको छ र सबै शव परीक्षणका लागि पठाइएको छ। अनुसन्धानकर्ताहरूले परिवारका सदस्य, छिमेकी तथा अन्य सम्बन्धित व्यक्तिहरूको बयान लिइरहेका छन्, ताकि घटनाअघि भएका गतिविधि र परिस्थितिबारे स्पष्ट जानकारी प्राप्त गर्न सकियोस्।
भारतीय नौसेनाले घटनालाई अत्यन्त दुःखद बताउँदै एक विज्ञप्तिमा कोलाबाको नेभी नगरमा एक नौसैनिक र उनका परिवारका सदस्यहरू १५ अगस्तका दिन आफ्नै घरमा मृत फेला परेको जनाएको छ।
नौसेनाले घटनाको अनुसन्धान पुलिसले गरिरहेको र अनुसन्धानमा भारतीय नौसेनाले पूर्ण सहयोग गरिरहेको पनि जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी