
खरसाङ, २४ अगस्त (हि.स.)। खरसाङका छोरा यादेश सुब्बाले बक्सिङ क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उनी स्पोर्ट्स अथोरिटी अफ इन्डिया (साई) अन्तर्गतको नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स (एनआईएस) बाट प्रमाणित राष्ट्रिय बक्सिङ प्रशिक्षक बनेका छन्।
खरसाङको नयाँ बजारस्थित ब्याङ्क रोड निवासी यादेश सुब्बाले लामो समयदेखि खरसाङमा बक्सिङ प्रशिक्षण प्रदान गर्दै आइरहेका छन्। बक्सिङ खेलप्रतिको निरन्तर समर्पण र प्रशिक्षणका क्षेत्रमा पुर्याउँदै आएको योगदानका बीच उनले राष्ट्रिय स्तरको प्रमाणित प्रशिक्षकको योग्यता हासिल गरेका हुन्।
यादेश सुब्बाको यस उपलब्धिले खरसाङमा बक्सिङ खेलको विकास तथा स्थानीय युवा खेलाडीहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने क्षेत्रमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय खेलप्रेमी तथा शुभेच्छुकहरूले उनको उपलब्धिप्रति खुशी व्यक्त गर्दै बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक