
मियामी, २२ अगस्त (हि.स.)। इन्टर मियामीका स्टार फुटबलर लियोनेल मेसीलाई मेजर लिग सकर (एमएलएस) ले फिलाडेल्फिया युनियनका खेलाडी क्विन सुलिभनसँग मैदानमा भएको विवादका कारण अज्ञात रकमको जरिवाना गरेको छ। मेसीका इन्टर मियामीका सहकर्मी इयान फ्रेलाई पनि जरिवाना गरिएको छ।
यो घटना खेलको अतिरिक्त समयको ११औँ मिनेटमा भएको थियो। दुवैबीच केहीबेर संवाद भएपछि मेसीले सुलिभनको घाँटीको पछाडिको भागमा हात लगाएका थिए।
एमएलएसको अनुशासन समितिले मेसी र फ्रेले “विपक्षी खेलाडीको अनुहार, टाउको वा घाँटीमा हात लगाउने सम्बन्धी लिगको नीतिको उल्लङ्घन” गरेको भन्दै जरिवाना लगाइएको जनाएको छ।
सुलिभनका भाइको रातो कार्ड रद्द
घटनाका क्रममा मेसी र क्विन सुलिभानलाई रेफ्रीले कुनै कार्ड देखाएका थिएनन्। तर खेल सकिएपछि दुवै टोलीका खेलाडीबीच भएको झडपमा फिलाडेल्फियाका क्विनका कान्छा भाई तथा टोलीका खेलाडी केभिन सुलिभन र इन्टर मियामीका मिडफिल्डर यानिक ब्राइटलाई रातो कार्ड देखाइएको थियो।
पछि स्वतन्त्र समीक्षा प्यानलले सर्वसम्मत रूपमा केभिन सुलिभनको पक्षमा निर्णय गर्दै उनको रातो कार्ड रद्द गरिदियो। यससँगै उनी शनिबार फिलाडेल्फिया युनियनको अर्को खेलका लागि उपलब्ध हुनेछन्।
२-२ को बराबरीमा टुंगियो खेल
चेस्टरस्थित सुबारु पार्कमा खेलिएको यो खेल २-२ को बराबरीमा समाप्त भयो। मेसीले २६औँ मिनेटमा गोल गर्दै इन्टर मियामीका लागि महत्वपूर्ण योगदान दिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल