
सिनसिनाटी, २० अगस्त (हि.स.)। विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना सबालेन्का बुधबार सिनसिनाटी मास्टर्सको चौथो चरणमा चेक गणतन्त्रकी सारा बेजलेकसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन्।
बेजलेकले सबालेन्कालाई ७-६ (९-७), ६-४ ले पराजित गर्दै पहिलो पटक शीर्ष-१० भित्रकी कुनै खेलाडीविरुद्ध जित दर्ता गरिन्।
सबालेन्काले पहिलो सेटमा उत्कृष्ट शुरुआत गर्दै ५-१ को अग्रता बनाएकी थिइन्, तर ३५औँ वरियताकी बेजलेकले आफ्नो उत्कृष्ट कोर्ट कभरेज र निरन्तर दबाउका बलमा खेलमा पुनरागमन गरिन्। उनले टाइब्रेकमा ९-७ ले जित निकाल्दै पहिलो सेट आफ्नो पक्षमा पारिन्।
दोस्रो सेटमा बेजलेकले सबालेन्काको सर्भिस तीन पटक ब्रेक गरिन्। त्यसपछि उनले उत्कृष्ट शैलीमा खेल समाप्त गरिन्। अन्तिम गेममा उनले एक अंक पनि नगुमाई जित सुनिश्चित गरिन् र खेलको अन्त्य एस सटमार्फत गरिन्।
जितपछि बेजलेकले भनिन्, “मसँग शब्द छैनन्। यो अविश्वसनीय महसुस भइरहेको छ।”
यस वर्ष अबुधाबीमा हार्ड कोर्टको उपाधि जितिसकेकी बेजलेकले अब अर्को चरणमा अमेरिकाकी म्याडिसन कीजसँग प्रतिस्पर्धा गर्नेछिन्।
उता, सबालेन्काका लागि अमेरिकी ओपनअघि यो लगातार दोस्रो निराशाजनक प्रदर्शन हो। गत साता उनी टोरन्टो मास्टर्सको चौथो चरणबाट बाहिरिएकी थिइन्। त्यसअघि विम्बल्डनमा पनि उनले चौथो चरणमै हार बेहोरेकी थिइन् भने फ्रेन्च ओपनको क्वार्टरफाइनलमा उनको यात्रा समाप्त भएको थियो। अमेरिकी ओपन ३० अगस्तदेखि शुरु हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल