
नयाँ दिल्ली, 25 अगस्त (हि.स.)। काङ्ग्रेसले आगामी जातिय जनगणनाको हालको ढाँचामा तत्काल परिवर्तनको माग गरेको छ। काङ्ग्रेस अध्यक्ष तथा राज्यसभामा विपक्षका नेता मल्लिकार्जुन खडगे र लोकसभामा विपक्षका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त पत्र लेख्दै जाति गणनाका लागि अपनाइएका खुल्ला प्रश्नहरूलाई भ्रामक बताएका छन्। दुई नेताले ड्रप-डाउन सूची लागू गर्न र जातहरूको सही र प्रामाणिक गणनाका लागि नयाँ प्रश्नावली तयार गर्नुअघि सबै दल र विशेषज्ञहरूसँग व्यापक परामर्श मागेका छन्।
प्रधानमन्त्रीलाई पठाएको संयुक्त पत्रमा काङ्ग्रेस नेता मल्लिकार्जुन खडगे र राहुल गान्धीले प्रभावकारी सामाजिक न्याय नीतिहरूका लागि देशमा विभिन्न जातहरूको वास्तविक सङ्ख्या र उनीहरूको सामाजिक-आर्थिक स्थितिको प्रामाणिक तथ्याङ्क आवश्यक रहेको बताएका छन्। यदि जातिय गणना वैज्ञानिक र व्यवस्थित रूपमा गरिएको छैन भने यसबाट प्राप्त तथ्याङ्क अविश्वसनीय हुनसक्छ र यसले सामाजिक न्यायसँग सम्बन्धित नीतिहरूमा प्रत्यक्ष प्रभाव पार्नेछ।
जनगणनाका क्रममा प्रत्येक व्यक्तिले उल्लेख गर्ने जातिको नाम रेकर्ड भएमा एउटै जातका धेरै फरक नाम आउन सक्ने दुवै नेताले बताए। भारतका विभिन्न राज्य र क्षेत्रहरूमा जाति र उप-जातहरूका लागि विभिन्न स्थानीय नामहरू प्रचलित भएकाले यस प्रणालीले जाति डेटालाई प्रभावित गर्नसक्छ। यी सबै डेटा नीतिगत प्रयोगका लागि कमजोर हुनसक्छ।
दुई नेताले विद्यमान ओपन-एन्डेड प्रणालीको विकल्पका रूपमा अनुसूचित जाति र जनजातिहरूको गणना सरह अन्य जातिहरूका लागि ड्रप-डाउन सूची तयार गर्न पनि सुझाव दिएका छन्। उनले सामाजिक तथा शैक्षिक रूपमा पछौटे वर्ग र भारतीय मानवशास्त्रीय सर्वेक्षणसँग सम्बन्धित विद्यमान सरकारी सूचीको आधारमा यस्तो सूची तयार गर्न सकिने बताए।
खड़गे र राहुल गान्धीले आफ्नो पत्रसँगै तेलङ्गाना जाति सर्वेक्षण-2024 र बिहार जाति सर्वेक्षण-2022 मा प्रयोग गरिएको कोड सहित जाति सूचीका प्रतिलिपिहरू पनि संलग्न गरेका छन्। यी राज्यहरूमा जातिहरूको पहिचान र वर्गीकरण ड्रप-डाउन ढाँचाको माध्यमबाट गरिएको छ, त्यसैले यो प्रणाली केन्द्र सरकारको स्तरमा पनि अपनाउन सकिन्छ, पत्रमा भनिएको छ।
दुई जना विपक्षी नेताले प्रधानमन्त्रीसँग विद्यमान प्रश्नावली खारेज गर्न र नयाँ प्रश्नावली तयार गर्ने प्रक्रियामा सबै राजनीतिक दलहरूलाई संलग्न गराउन माग गरेका छन्। साथै समाजशास्त्री, जनसांख्यिकीविद् र अन्य सान्दर्भिक विज्ञहरूसँग व्यापक परामर्श गर्न पनि आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी