
करण जौहरको रियलिटी शो ‘द ट्रेटर्स इंडिया सिजन-२’ अब फिनालेतर्फ अघि बढिरहेको छ। हरेक नयाँ एपिसोडसँगै शोमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। अमेजन प्राइम भिडियोमा जारी पछिल्ला तीन एपिसोडमा केही चकित पार्ने निष्कासन भएका छन्। तीमध्ये सबैभन्दा चर्चित नाम अभिनेत्री रिया चक्रवर्तीको रहेको छ। शुरुदेखि नै ‘इनोसेन्ट’ बनेर खेलिरहेकी रिया सहप्रतियोगीहरूको शंकाको घेरामा परेपछि शोबाट बाहिरिएकी हुन्।
‘सर्कल अफ शक’ चरणमा आफू निर्दोष रहेको प्रमाणित गर्न नसकेपछि रियाको शो यात्रा समाप्त भयो। शोबाट बिदाई हुने क्रममा उनी भावुक देखिइन्। उनले ‘डेजा वु’ शब्द प्रयोग गर्दै आफ्नो विगततर्फ संकेत गरिन्। रियाले भनिन्, “यो सबै पहिले पनि भइसकेको छ... म आफ्नो जीवनको दोस्रो अध्यायमा छु। तिमीहरूको हिम्मत कसरी भयो? म निर्दोष छु। सधैं थिएँ, सधैं रहनेछु।” त्यसपछि उनले सबै प्रतियोगीहरूसँग माफी माग्दै शोबाहिर पनि उनीहरू सबै असल साथी बनिरहने आशा व्यक्त गरिन्।
रियाको ‘डेजा वु’ टिप्पणीले उनको पुरानो विवादलाई समेत पुनः चर्चामा ल्याएको छ। सुशान्त सिंह राजपूतको मृत्युपछि चर्चामा आएको लागूऔषधसम्बन्धी मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले रियालाई पक्राउ गरेको थियो। पछि उक्त मामिलामा उनलाई क्लिन चिट दिइएको बताइएको थियो।
रियापछि शोबाट अभिनेत्री श्वेता तिवारी र कन्टेन्ट क्रिएटर अंश पनि बाहिरिएका छन्। र्यापर इक्कालाई टास्क पूरा गर्न नसकेको भन्दै निष्कासन गरिएको थियो। यस्तै, प्रतियोगीहरूले मिलेर ट्रेटर शहनील गिललाई पहिचान गरेपछि उनको खेल पनि समाप्त भएको छ।
हिन्दुस्थान समाचार / बिशाल