यशको ‘टक्सिक’ ले बक्स अफिसमा मच्चायो तहल्का, पहिलो दिनमै १०० करोड पार
यश - फोटो सोर्स एक्स


कन्नड सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक: ए फेयरीटेल फर ग्रोन-अप्स’ ले रिलिजसँगै बक्स अफिसमा शानदार शुरुवात गरेको छ। गीतु मोहनदासको निर्देशनमा बनेको यस एक्सन-थ्रिलरले पहिलो दिनमै १०० करोड रुपियाँभन्दा बढीको नेट कलेक्सन गरेको छ। समीक्षक तथा दर्शकबाट फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि त्यसको प्रभाव फिल्मको कमाइमा भने देखिएको छैन।

सैकनिल्कको प्रारम्भिक तथ्यांकअनुसार, ‘टक्सिक’ ले पहिलो दिन १०१.१० करोड रुपियाँ नेट कलेक्सन गरेको छ। फिल्मलाई सबैभन्दा ठूलो फाइदा हिन्दी क्षेत्रमा भएको छ, जहाँ यसले ५५ करोड रुपियाँ कमाएको छ। त्यस्तै कन्नडमा २३.३० करोड, तेलुगुमा १६ करोड, तमिलमा ५.५० करोड र मलयालममा १.३० करोड रुपियाँको कारोबार गरेको छ।

फिल्मले पहिलो दिन २४,५७९ शोमार्फत १२०.७५ करोड रुपियाँ ग्रस कलेक्सन गरेको छ भने यसको विश्वव्यापी कलेक्सन १४०.७५ करोड रुपियाँ पुगेको बताइएको छ।

यो शानदार ओपनिङसँगै ‘टक्सिक’ ले ‘पठान’ (५७ करोड), ‘जवान’ (७५ करोड), ‘एनिमल’ (६३.८० करोड) र ‘कल्कि २८९८ एडी’ (९५.३० करोड) जस्ता फिल्मको पहिलो दिनको कलेक्सनलाई पछाडि पारेको छ। यद्यपि, यशले आफ्नै फिल्म ‘केजीएफ च्याप्टर २’ को ११६ करोड रुपियाँको ओपनिङ रेकर्ड भने तोड्न सकेनन्। त्यस्तै, रणवीर सिंहको ‘धुरन्धर २’ को १०२.५५ करोड रुपियाँको रेकर्डभन्दा पनि ‘टक्सिक’ केही पछाडि रहेको छ।

फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, तारा सुतारिया र रुक्मिणी वसन्तको प्रमुख भूमिका रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande