
नयाँ दिल्ली, 29 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले देशको नयाँ युवा पुस्ता अर्थात् जेन-जीबीच आफ्नो पहुँच बलियो बनाउने रणनीतिमा जोड दिन थालेको छ। युवाको बदलिँदो सोच, प्राथमिकता र वर्तमान चुनौती बुझ्न पार्टीले आफ्ना चयनित युवा नेताहरूको महत्वपूर्ण बैठक बोलाएको छ। बैठक भाजपा अध्यक्ष नितिन नबिनको आयोजनामा हुन लागेको हो।
बैठक शनिबार बिहान ११ बजी भाजपा मुख्यालयमा प्रस्तावित छ।पार्टी स्रोतका अनुसार, देशभरबाट करिब ४५ जना युवा नेतालाई बैठकमा आमन्त्रण गरिएको छ। प्रत्येक राज्यबाट दुईदेखि तीन जना नेता सहभागी हुने बताइएको छ। बैठकमा जेन-जी तथा युवा पुस्ताको बदलिँदो मनोभाव, उनीहरूको प्राथमिकता र सामना गरिरहेका चुनौतीबारे विस्तृत छलफल हुने सम्भावना छ।
यससँगै युवासँग सम्बन्धित मुद्दालाई राजनीतिक तथा संगठनात्मक स्तरमा कसरी अझ प्रभावकारी रूपमा बुझ्ने र सम्बोधन गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। पार्टी नेतृत्वले युवासँग संवाद बढाउने तथा उनीहरूको आकांक्षा प्रत्यक्ष रूपमा बुझ्ने विषयलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
बैठकमा वर्तमान केन्द्रिय मन्त्री, वर्तमान तथा पूर्वसांसद, पूर्वमन्त्री, विधायक तथा विभिन्न राज्यमा मन्त्रीको जिम्मेवारी सम्हालिरहेका युवा नेताहरूलाई पनि आमन्त्रण गरिएको छ। विभिन्न राज्य, क्षेत्र तथा राजनीतिक अनुभव भएका युवा नेतासँग प्रत्यक्ष संवाद गरी देशका युवाको सोच र अपेक्षा बुझ्ने भाजपा नेतृत्वको उद्देश्य रहेको बताइएको छ।
बैठकमा युवासँग सम्बन्धित रोजगारी, शिक्षा, प्रविधि, डिजिटल परिवर्तन तथा बदलिँदो सामाजिक-आर्थिक प्राथमिकता लगायतका विषयमा छलफल हुन सक्नेछ। साथै, युवामाझ पार्टीका नीति तथा कार्यक्रमको पहुँच अझ प्रभावकारी बनाउने र युवा मतदातासँग संवादका नयाँ माध्यमबारे पनि विचार-विमर्श हुन सक्ने सम्भावना छ।
देशको राजनीतिमा युवा मतदाताको भूमिका निरन्तर महत्वपूर्ण बन्दै गएको समयमा भाजपाले यस्तो बैठक आयोजना गर्न लागेको हो। यसलाई जेन-जी तथा युवा मतदाताबीच आफ्नो पहुँच विस्तार गर्ने पार्टीको व्यापक रणनीतिको हिस्साका रूपमा हेरिएको छ।
बैठकबाट प्राप्त सुझाउलाई आगामी दिनमा पार्टीको संगठनात्मक तथा राजनीतिक रणनीतिमा समावेश गर्ने सम्भावना रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी