
नयॉं दिल्ली, २९ अगस्त (हि.स.)। इन्द्रप्रस्थ ग्यास लिमिटेड (आईजीएल) ले राष्ट्रिय राजधानी नयाँ दिल्ली तथा आसपासका शहरहरूमा कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) को मूल्य प्रतिकिलो ३.८९ रुपियाँले बढाएको छ। मूल्यवृद्धिसँगै दिल्लीमा सीएनजीको नयाँ मूल्य प्रतिकिलो ८६.९८ रुपियाँ पुगेको छ। नयाँ दर शनिबार बिहान ६ बजीदेखि लागू भएको हो।
आईजीएलले जारी गरेको विज्ञप्तिअनुसार, नयाँ दिल्ली तथा आसपासका शहरहरूमा सीएनजीको मूल्य प्रतिकिलो ३.८९ रुपियाँसम्म बढाइएको हो। यसअघि दिल्लीमा सीएनजीको मूल्य प्रतिकिलो ८३.०९ रुपियाँ थियो। त्यस्तै, नोएडा र गाजियाबादमा सीएनजीको नयाँ मूल्य प्रतिकिलो ९५.५९ रुपियाँ पुगेको छ। उत्तर प्रदेशका शामली र मेरठमा नयाँ दर प्रतिकिलो ९५.४७ रुपियाँ कायम गरिएको छ। गुरुग्राममा सीएनजीको मूल्य अब प्रतिकिलो ९२.०१ रुपियाँ पुगेको छ भने हरियाणाको रेवाडीमा नयाँ मूल्य प्रतिकिलो ९१.५९ रुपियाँ भएको छ।
आईजीएलका अनुसार, सीएनजीका लागि आवश्यक ग्यासको ठूलो हिस्सा आयातित तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बाट पूरा गरिँदै आएको छ। पश्चिम एसियामा द्वन्द्व शुरु भएपछि हाजिर तथा वर्तमान बजारमा एलएनजीको मूल्य बढेको कारण सीएनजीको मूल्यमा वृद्धि गर्नुपरेको कम्पनीले जनाएको छ।
उल्लेखनीय छ, यस वर्ष सीएनजीको मूल्यमा भएको यो पाँचौँ वृद्धि हो। यसअघि आईजीएलले १० दिनको अवधिमा चार चरणमा गरी सीएनजीको मूल्य प्रतिकिलो कुल ६ रुपियाँले बढाएको थियो।
हिन्दुस्थान समाचार / बिशाल