
खरसाङ, 29 अगस्त (हि.स.)। गायक सागर बलको नयाँ गीत ‘चिट्ठी’ को लोकार्पण गरिएको छ। रङ्ली चियाबारीको एक होमस्टेमा आइतवार गायक सागर बलको नयाँ गीत चिट्ठीको लोकर्पण गरियो।
सन् 1994 ब्याचका सहपाठी तथा मित्रहरूलाई समर्पण गर्दै गायक सागर बलको नयाँ गीत ‘चिट्ठी’ रङ्ली चियाबारीमा विशेष कार्यक्रमबीच लोकार्पण गरियो। आफ्ना साथीहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मित्रताको इतिहास जीवन्त राख्ने उद्देश्यले ‘चिट्ठी’ गीत तथा एल्बम तयार गरिएको गायक सागर बलले जानकारी दिए।
विशेषगरी विदेश तथा परदेशमा बसोबास गर्ने साथीहरूलाई समर्पित गर्दै यो गीत निर्माण गरिएको उनले बताए। कक्षा 5 देखि कक्षा 10 सम्म सँगै अध्ययन गरेका साथीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा गीतको लोकार्पण गरिएको थियो। कार्यक्रममा आफ्ना सहपाठी तथा मित्रहरूप्रति आभार व्यक्त गर्दै गायक बलले आफू साथीहरूप्रति जीवनभर ऋणी रहने बताए।
‘चिट्ठी’ का रचनाकार आरती चाम्लिङ राई र संगीतकार किरण मोक्तान हुन्। गीतको रेकर्डिङ काठमाडौंमा गरिएको छ। गायक सागर बलले संगीतकार किरण वाइबाको साथमा लामो समयदेखि सांगीतिक यात्रालाई निरन्तरता दिँदै विभिन्न गीत तथा एल्बम सार्वजनिक गर्दै आएका छन्।
लामो समयपछि आफ्नै नयाँ गीति संग्रह सार्वजनिक गर्न पाउँदा आफू निकै उत्साहित भएको उनले बताए। कार्यक्रममा उपस्थित 1994 ब्याचका साथीहरूले गायक सागर बललाई नयाँ गीत ‘चिट्ठी’ को सफलताको शुभकामना तथा बधाई दिएका थिए।
हिन्दुस्थान समाचार / हनोक