
नयाँ दिल्ली, 29 अगस्त (हि.स.)। राष्ट्रिय खेल दिवसको अवसरमा शनिबार उपराष्ट्रपति सीपी राधाकृष्णन, लोकसभा अध्यक्ष ओम बिरलासहित विभिन्न केन्द्रिय मन्त्री तथा नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्। उनीहरूले महान् हक्की खेलाडी मेजर ध्यानचन्दको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दै भारतीय खेलकुद क्षेत्रमा उनको योगदानको स्मरण गरे।
उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जाल एक्समार्फत देशवासीलाई राष्ट्रिय खेल दिवसको शुभकामना दिँदै मेजर ध्यानचन्दको महान् विरासतले देशमा संकल्प, अनुशासन र उत्कृष्टताको भावना जगाउने बताए। भारतको तीव्र रूपमा बलियो बन्दै गएको खेल प्रणालीले हरेक तहमा प्रतिभा विकास गर्ने प्रतिबद्धता प्रतिबिम्बित गर्ने उनको भनाइ थियो। भारतीय खेलाडीहरूले अन्तरराष्ट्रिय मञ्चमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाइरहेको उनले बताए।
राधाकृष्णनले नागरिकलाई फिटनेस प्रवर्द्धन गर्न, खेलकुदमा बढीभन्दा बढी सहभागिता सुनिश्चित गर्न तथा युवालाई मेहनत र दृढ संकल्पका साथ उत्कृष्टता हासिल गर्न प्रेरित गर्न आह्वान गरे।
लोकसभा अध्यक्ष ओम बिरलाले मेजर ध्यानचन्दलाई स्मरण गर्दै उनको अद्भुत प्रतिभा, अनुशासन, समर्पण र राष्ट्रका लागि खेल्ने भावनाले भारतीय हक्कीलाई विश्वस्तरमा गौरवपूर्ण पहिचान दिलाएको बताए। उनले ‘हक्कीका जादुगर’ ध्यानचन्दको विरासतले आज पनि करोडौँ भारतीय युवालाई प्रेरणा दिइरहेको बताए। बिरलाका अनुसार, ध्यानचन्दले प्रतिभालाई मेहनत, अनुशासन र दृढ संकल्पमार्फत असाधारण उपलब्धिमा परिणत गर्न सकिन्छ भन्ने प्रमाणित गरेका थिए।
केन्द्रिय गृहमन्त्री अमित शाहले मेजर ध्यानचन्दले आफ्नो असाधारण प्रतिभाका बलमा भारतीय हक्कीलाई विश्वस्तरमा नयाँ उचाइमा पुर्याएको बताए। उनको खेल कौशलबाट विश्व नै प्रभावित भएको उल्लेख गर्दै शाहले स्वतन्त्रतापूर्वको कठिन समयमा समेत ध्यानचन्दले आफ्नो खेलमार्फत भारतको गौरव बढाएको बताए। उनको अनुशासन, परिश्रम र राष्ट्रप्रतिको समर्पणलाई उनले भारतीय खेलकुद क्षेत्रको अमूल्य विरासत बताए।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले पनि मेजर ध्यानचन्दको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दै पद्मभूषणबाट सम्मानित महान् खेलाडीप्रति सम्मान व्यक्त गरे।
रक्षामन्त्री राजनाथ सिंहले मेजर ध्यानचन्दको अद्वितीय खेल कौशल, समर्पण र हक्कीप्रतिको प्रेमले धेरै पुस्ताका भारतीयलाई प्रेरित गर्दै आएको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा खेलाडीलाई सशक्त बनाउने, युवा प्रतिभालाई निखार्ने तथा खेलकुदसँग जोडिएका आकांक्षालाई राष्ट्रिय उपलब्धिमा परिणत गर्न बलियो खेलकुद प्रणाली निर्माण भइरहेको उनले बताए।
केन्द्रिय स्वास्थ्यमन्त्री जेपी नड्डाले मेजर ध्यानचन्दको अद्भुत खेल प्रतिभा, अनुशासन र देशभक्तिले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको बताए। उनको जीवन र योगदानले आगामी पुस्तालाई खेलकुदप्रति समर्पित हुन तथा उत्कृष्टता हासिल गर्न प्रेरणा दिइरहने उनले बताए। महान् हक्की खेलाडी ध्यानचन्दको विरासत देशका खेलाडीका लागि सधैँ प्रेरणाको स्रोत रहने नड्डाले उल्लेख गरे।
हिन्दुस्थान समाचार / भवानी थामी