पुतिनको ठूलो दाबी,रुससँग सहकार्य गर्न ३० भन्दा बढी देश इच्छुक
रूस के राष्ट्रपति व्लादिमीर पुतिन  (फाइल फाेटाे)


मस्को, २९ अगस्त (हि.स.)। रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले विश्वका करिब ३० देशले रुससँग नवप्रवर्तन तथा प्राविधिक सहकार्यका लागि प्रस्ताव गरेको दाबी गरेका छन्। उनले यी देशहरूमा युरोप, उत्तर अमेरिका र मध्यपूर्वका राष्ट्रहरू पनि रहेको बताएका छन्।

पुतिनले शुक्रबार निज्नी नोभगोरोडमा आयोजित ‘स्ट्रङ आइडियाज फर अ न्यू एरा’ फोरमको पूर्ण सत्रलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्। एजन्सी फर स्ट्राटेजिक इनिसिएटिभ्स (एएसआई) ले आयोजना गर्ने यस वार्षिक कार्यक्रमले यस वर्ष आफ्नो १५औँ वार्षिकोत्सव मनाइरहेको छ।

रुसी राष्ट्रपतिका अनुसार, एएसआईले रुसका विभिन्न क्षेत्रसँगै विदेशबाट पनि थुप्रै नवीन परियोजनाका प्रस्ताव प्राप्त गरेको छ। तीमध्ये उत्कृष्ट परियोजनाहरूलाई थप अध्ययन तथा सम्भावित कार्यान्वयनका लागि सरकारसमक्ष प्रस्तुत गरिनेछ।

पुतिनले भने, 'हामीले रुसका सबै क्षेत्रबाट मात्र होइन, करिब ३० विदेशी देशबाट पनि प्रस्ताव प्राप्त गरेका छौँ। ती देशहरूमा युरोप, उत्तर अमेरिका, मध्यपूर्व तथा विश्वका अन्य क्षेत्रका राष्ट्रहरू रहेका छन्।'

उनले अन्तरराष्ट्रिय परियोजनाले रुसी उद्योग तथा विभिन्न क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने बताए। साथै, यसले रुस र अन्य देशबीचको अन्तरराष्ट्रिय सहकार्यको दायरा विस्तार गर्न सक्ने उनको भनाइ छ।

पुतिनले नयाँ युगका चुनौतीको सामना गर्न रचनात्मक तथा व्यावहारिक विचार आवश्यक रहेको बताए। उनका अनुसार, नवप्रवर्तनसँग सम्बन्धित प्रयासले रुसको वर्तमान र भविष्यलाई मजबुत बनाउनुका साथै देशको सार्वभौमिकता सुरक्षित गर्न पनि सहयोग पुर्‍याउनेछ।

फोरमलाई सम्बोधन गर्दै पुटिनले नयाँ विचार र परियोजनाको उद्देश्य भावी पुस्ताका लागि राम्रो भविष्य निर्माण गर्नु हुनुपर्ने बताए।

उनले रुसले आफ्नो सार्वभौमिकता मजबुत बनाउन र नागरिकको कल्याण सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताए। पुतिनले विश्वास व्यक्त गर्दै भने, “रुस बलियो छ र भविष्यमा पनि बलियो रहिरहनेछ।”

‘स्ट्रङ आइडियाज फर अ न्यू एरा’ फोरममा व्यवसायी नेता, विशेषज्ञ, गैरसरकारी संस्था तथा सरकारी अधिकारीहरूलाई एउटै मञ्चमा ल्याइन्छ। कार्यक्रममा आर्थिक, प्राविधिक तथा सामाजिक विकाससँग सम्बन्धित परियोजनाबारे छलफल गर्दै तिनको विकास र कार्यान्वयनका सम्भावनाबारे विचारविमर्श गरिन्छ।

पुतिनका अनुसार, अन्तरराष्ट्रिय स्तरबाट प्राप्त प्रस्तावले रुसका लागि नयाँ प्राविधिक तथा आर्थिक अवसर सिर्जना गर्नुका साथै देशको विश्वव्यापी सहकार्यलाई समेत विस्तार गर्न सक्छ।


 rajesh pande