
काठमाडौं, ३० अगस्त (हि.स.)। नेपालका बाढी प्रभावितका लागि भारतले चौथोपटक राहत सामग्री पठाएको छ। भारतका विदेशमन्त्री एस. जयशंकरले दिएको जानकारीअनुसार, शनिबार राति ११ टन राहत सामग्रीसहित सी-१३० सैन्य विमान नेपाल पठाइएको हो।
उनका अनुसार, यस खेपमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको टनेल प्राविधिक टोली, फरेन्सिक उपकरणसहित डीएनए विश्लेषणका लागि फरेन्सिक विशेषज्ञहरूको टोली, कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटलगायत अन्य राहत सामग्री पठाइएको छ।
यसैगरी, २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक पनि नेपाल पुगिसकेका छन्।
भारतीय विदेशमन्त्री जयशंकरका अनुसार, हालसम्म भारतले औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा प्राविधिक उपकरणलगायत कुल ६८.५ टन राहत सामग्री हवाईमार्फत काठमाडौं पुर्याइसकेको छ।
भारतले नेपाल सरकारबाट माग गरिएका सबै प्रकारका सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। नेपाल सरकारबाट आवश्यकताअनुसार सहयोगको माग हुनासाथ त्यसलाई तत्काल कार्यान्वयन गरिरहेको भारतले जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल