बक्स अफिसमा ‘टक्सिक’ को बर्चस्व, पाँच दिनमै २०० करोड क्लबमा प्रवेश
टॉक्सिक - फोटो सोर्स एक्स


कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन-अप्स’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ। गीतु मोहनदासको निर्देशनमा बनेको एक्सन-थ्रिलर फिल्मले सप्ताहन्तको भरपूर फाइदा उठाउँदै भारतीय बक्स अफिसमा २०० करोड रुपियाँको क्लबमा प्रवेश गरेको छ। यद्यपि फिल्मले हिंसात्मक दृश्य र महिलाको चित्रणलाई लिएर लगातार आलोचनाको सामना गरिरहेको छ, तर यसको असर सप्ताहन्तमा टिकट बिक्रीमा खासै देखिएन र सिनेमाघरमा दर्शकको भीड देखियो।

सैकनिल्कका अनुसार, ‘टक्सिक’ ले रिलिजको पाँचौं दिन अर्थात् आइतबार २३ करोड रुपियाँको नेट कलेक्सन गरेको छ। यो कमाइ १६,२४१ शोका क्रममा २५.३ प्रतिशत अकुपेन्सीका साथ भएको हो। फिल्मले पहिलो दिन १०१.१० करोड, दोस्रो दिन ३७.६५ करोड, तेस्रो दिन २७.२० करोड र चौथो दिन २५.१५ करोड रुपियाँ कमाएको थियो।

यसरी पाँच दिनमा फिल्मको भारतमा कुल नेट कलेक्सन २१४.१० करोड रुपियाँ पुगेको छ भने विश्वव्यापी ग्रस कलेक्सन २८५.२० करोड रुपियाँ पुगेको छ। फिल्मले थलपति विजयको ‘जन नायकन’ र सूर्या अभिनीत ‘करुप्पु’ को लाइफटाइम कलेक्सनलाई पनि पछाडि पारेको छ।

यद्यपि, यशको अघिल्लो फिल्म ‘केजीएफः च्याप्टर २’ को तुलनामा ‘टक्सिक’ को सुरुवात निकै कमजोर रहेको छ। ‘केजीएफ २’ ले सुरुवाती पाँच दिनमा भारतमा ४३०.१५ करोड रुपियाँको नेट कारोबार गरेको थियो। करिब ५०० करोड रुपियाँको ठूलो बजेटमा बनेको ‘टक्सिक’ का लागि अबको कमाइ निकै महत्त्वपूर्ण हुनेछ।

फिल्मले आफ्नो लागत उठाउन र नाफातर्फ अघि बढ्न बक्स अफिसमा आफ्नो गति कायम राख्नुपर्नेछ। यसै साता ‘मिर्जापुरः द मूवी’ सिनेमाघरमा प्रदर्शनमा आउने भएकाले ‘टक्सिक’ ले नयाँ चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande