
कोलकाता, 31 अगस्त (हि.स.)। भारत र रुसबीचको दशकौँको विश्वास र रणनीतिक सहयोगलाई नयाँ प्रविधि, नवाचार, व्यापार, विनिर्माण, ऊर्जा, शिक्षा र जनता-जनताबीचको सम्पर्कका नयाँ अवसरहरूसँग जोड्नु आवश्यक छ। उत्तर पूर्वी क्षेत्रका केन्द्रिय शिक्षा तथा विकास राज्यमन्त्री सुकान्त मजूमदारले सोमवार कोलकातामा आयोजित भारत-रसिया द्विपक्षीय शिखर सम्मेलन-2026 सम्पर्क लाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन्।
भारत-रसिया सम्बन्धलाई समय-परीक्षित साझेदारी का रूपमा वर्णन गर्दै सुकान्त मजूमदारले परिवर्तन भइरहेको विश्वव्यापी राजनीतिक र आर्थिक माहोलमा समयसँगै दुई देशको सम्बन्ध विकास गर्न आवश्यक रहेको बताए। दशकौँदेखि निर्माण भएको आपसी विश्वास यस साझेदारीको सबैभन्दा ठूलो शक्ति हो, तर अब यसलाई 21औँ शताब्दीका चुनौति र अवसरहरूका अनुरूप नयाँ क्षेत्रमा लैजानुपर्ने उनले बताए।
उनले रुस र तत्कालीन सोभियत सङ्घ भारतको औद्योगिकीकरणको प्रारम्भिक चरणदेखि विज्ञान, प्रविधि, अन्तरिक्ष र रक्षा क्षेत्रहरूमा भारतका महत्त्वपूर्ण सहयोगी रहेको बताए। यो ऐतिहासिक आधारले दुवै देशलाई सम्बन्धको अर्को चरणलाई अझ् महत्वाकांक्षी बनाउने बलियो अवसर दिन्छ।
मजूमदारले निर्माण, रेलवे, उड्डयन, खनन, प्रविधि, अनुसन्धान र नवाचारलाई भारत-रुस सहयोगका लागि प्रमुख क्षेत्रका रूपमा पहिचान गरे। रणनीतिक साझेदारीसँगै आर्थिक सम्बन्धलाई पनि सुदृढ़ पार्नुका साथै उद्योग तथा निजी क्षेत्रको सहभागिता बढ़ाउनुपर्ने उनले बताए।
ऊर्जा सहयोगलाई एउटा महत्त्वपूर्ण स्तम्भ बताउँदै उनले आणविक ऊर्जाको क्षेत्रमा दुई देशबीचको सहयोगको उल्लेख गरे। विद्यमान परियोजनाहरूलाई अगाड़ी बढ़ाउनुका साथै उन्नत आणविक प्रविधि र साना मोड्युलर आणविक रिएक्टरहरू जस्ता नयाँ क्षेत्रहरू पनि अन्वेषण गर्नुपर्ने उनले बताए।
केन्द्रिय मन्त्रीले विश्वविद्यालयहरू, अनुसन्धान संस्थानहरू, वैज्ञानिकहरू, विद्यार्थीहरू र युवा नवप्रवर्तकहरूबीचको सहकार्य बढ़ाउन पनि जोड दिए। भारत-रुस सम्बन्ध सरकार-सरकारबीचको सम्पर्कमा सीमित हुन नसक्ने उनले बताए। विश्वविद्यालय, अनुसन्धानकर्ता, उद्यमी र युवाहरू पनि यस साझेदारीको सक्रिय हिस्सा बन्नुपर्छ।
कोलकाताको ऐतिहासिक बौद्धिक र सांस्कृतिक भूमिकाको उल्लेख गर्दै केन्द्रिय मन्त्रीले यो शहर भारत र रुसबीचको नयाँ संवाद र सहयोगको महत्त्वपूर्ण केन्द्र बन्नसक्ने बताए। शिक्षा, भाषा, साहित्य र सांस्कृतिक अध्ययनका क्षेत्रमा बढ्दो सहयोगले दुई देशका नयाँ पुस्ताबीचको सम्बन्धलाई अझ् सुदृढ़ पार्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी