
खरसाङ, 01 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा प्राकृतिक आपदाको समयमा तीव्र, प्रभावकारी र स्थानीय स्तरमै उद्धार तथा राहत सेवा उपलब्ध गराउने उद्देश्यले राज्यस्तरीय आपदा प्रतिक्रिया बल ‘अर्जुन वाहिनी’ को औपचारिक घोषणा तथा शुभारम्भ गरिएको छ। मुख्यमन्त्री सुभेन्दु अधिकारीद्वारा गरिएको ‘अर्जुन वाहिनी’ को शुभारम्भ कार्यक्रममा सांसद राजु विष्ट पनि सहभागी थिए।
दार्जिलिङ पहाड, तराई तथा डुवर्स क्षेत्रमा प्राकृतिक विपद्को जोखिमलाई निरन्तर उठाउँदै आएका सांसद विष्टको पहलमा हिमाली क्षेत्रको आपदा जोखिमको वैज्ञानिक अध्ययनका लागि विशेषज्ञ समिति गठन गर्ने प्रस्तावलाई पनि मुख्यमन्त्रीले स्वीकार गरेको जानकारी प्राप्त भएको छ। प्रारम्भिक चरणमा दुई सय जना विशेष प्रशिक्षित जनशक्ति रहने अर्जुन वाहिनीअन्तर्गत दार्जिलिङ र कालेबुङ पहाडमा पचासजना, तटीय क्षेत्रमा पचासजना तथा कोलकातामा 100 जना जनशक्ति परिचालन गरिने बताइएको छ।
दार्जिलिङ तथा कालेबुङ पहाडमा तैनाथ हुने टोलीलाई आधुनिक उद्धार सवारीसाधन तथा विशेष उपकरणसहित एनडीआरएफ मापदण्ड अनुसार प्रशिक्षण प्रदान गरिनेछ। यसले पैह्रो, बादल फाट्ने घटना, आकस्मिक बाढी लगायतका प्राकृतिक विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सांसद बिष्टले पश्चिम बंगालको हिमाली क्षेत्रको जोखिमको वैज्ञानिक तथा व्यवस्थित मूल्याङ्कन गर्न विशेषज्ञ समिति गठन गरेको माग स्वीकार गरिएकोमा मुख्यमन्त्री सुभेन्दु अधिकारीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। प्रस्तावित विशेषज्ञ समितिले ग्लोफ, बादल फाट्ने घटना, पैह्रोको जोखिम, नदी प्रणालीको व्यवहार तथा पहाडी शहरहरूको जल निकास प्रणाली लगायतका विषयमा अध्ययन गरी विपद् पूर्वतयारी, न्यूनीकरण तथा व्यवस्थापनका लागि वैज्ञानिक सुझाउ प्रस्तुत गर्नेछ।
हिमाली क्षेत्रको सुरक्षा र जनताको जीवनरक्षाका लागि सांसद राजु विष्टको निरन्तर पहल तथा ‘अर्जुन वाहिनी’ को गठन पश्चिम बंगालको आपदा प्रबन्धनलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम हो भनी भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक