मतदाता नामावली पर्यवेक्षक कार्कीले गेजिङ जिल्लामा एसआईआरको प्रगति समीक्षा गरे
मतदाता नामावली पर्यवेक्षक कार्कीले गेजिङ जिल्लामा एसआईआरको प्रगति समीक्षा गरे


गेजिङ, 01 सेप्टेम्बर (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत मतदाता नामावली पुनरावलोकनको प्रगति तथा आगामी चरणका लागि जिल्ला निर्वाचन संयन्त्रको तयारीको समीक्षा गर्न मुद्रण तथा लेखन सामग्री विभागका सचिव तथा एसआईआरका लागि मतदाता नामावली पर्यवेक्षक एबी कार्कीले मंगलबार गेजिङ जिल्लाको पहिलो आधिकारिक भ्रमण गरेका छन्। पर्यवेक्षक कार्कीलाई गेजिङका जिल्लापाल एवं जिल्ला निर्वाचन अधिकारी तेन्जिङ डी. डेन्जोङ्पा लगायत जिल्ला प्रशासनका अधिकारीहरूले स्वागत गरेका थिए।

गेजिङ जिल्ला प्रशासन केन्द्रमा आयोजित बैठकमा पर्यवेक्षक कार्कीले जारी एसआईआर गतिविधिहरूको समीक्षा गर्दै बुथ लेभल अफिसर (बीएलओ) हरूबीच प्रभावकारी समन्वयको महत्त्वमा जोड दिए। उनले निर्वाचन दर्ता अधिकारी (ईआरओ) हरूले आफूलाई सुम्पिएको जिम्मेवारी अत्यन्तै लगनशीलताका साथ पूरा गर्नुपर्ने तथा मतदाता सूची पुनरावलोकन प्रक्रियामा आवश्यक सावधानी अपनाउनुपर्ने बताए।

मतदाता सचेतना तथा सूचनाको प्रभावकारी प्रसारको महत्त्व उल्लेख गर्दै कार्कीले अधिकारीहरूलाई एसआईआर प्रक्रियाबारे पूर्ण रूपमा परिचित हुन आग्रह गरे।

बैठकमा जिल्लापाल डेन्जोङ्पाले जिल्लाको एसआईआरसम्बन्धी तथ्याङ्क तथा मतदाता सूची पुनरावलोकनको समग्र प्रगतिको विस्तृत विवरण प्रस्तुत गरे। उनले जिल्लामा सञ्चालन भइरहेका विभिन्न मतदाता सचेतना कार्यक्रमबारे पनि पर्यवेक्षकलाई जानकारी गराउँदै निर्वाचन क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत गरे।

बैठकमा देन्ताम विधानसभा निर्वाचन क्षेत्र सिक्किममा एसआईआर प्रक्रियाको पहिलो चरण पूरा गर्ने पहिलो निर्वाचन क्षेत्र बनेको जानकारी दिइयो। पर्यवेक्षकको भ्रमणले हालसम्म हासिल भएको प्रगतिको समीक्षा गर्नुका साथै थप ध्यान दिनुपर्ने क्षेत्रहरू पहिचान गर्न र मतदाता सूची पुनरावलोकन प्रक्रियामा संलग्न अधिकारीहरूबीच समन्वयलाई थप सुदृढ गर्ने अवसर प्रदान गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande