
खरसाङ, 01 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) खरसाङ टाउन कमिटीले संगठनलाई सुदृढ़ बनाउने आफ्नो कार्यलाई निरन्तरता दिएको छ। यस क्रममा मंगलवार खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रीनको अगुवाईमा खरसाङ महकुमा पार्टी कार्यलयमा एक सभा सम्पन्न भयो। सभा असंगठित श्रमिक सँगठनका मूल सचिव शरण विश्वकर्मको अध्यक्षतामा गरिएको थियो।
सभामा खरसाङ क्षेत्रका श्रमिकहरुले आ-आफ्नाे कार्यक्षेत्रमा भोग्नु परिरहेका समस्याहरुलाई लिएर चर्चा गरे। मूल सचिव शरण विश्वकर्माले चुनाउ परिणामपछि भागोप्रमो असंगठित श्रमिक संगठनका अध्यक्ष एल्जिन ब्राह्मणले आफ्नो पद लगायत भागोप्रमोको सदस्यताबाट राजीनामा दिए तापनि श्रमिकहरूका पक्षमा संगठनलाई निरन्तरता दिइरहेको बताए।
सभामा खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रीनले आफु श्रमिकहरुको समस्यासँग पूर्ण अवगत रहेको बताउॅंदै श्रमिकहरूले भोगिरहेका समस्या साथै श्रमिक संगठनलाई सहयोग गर्न टाउन कमिटी श्रमिक संगठनसँग खडा रहने प्रतिबद्धता व्यक्त गरे। उनले छरपस्ट भएका श्रमिकहरुलाई एकत्रित गरेर यथा शीघ्र एउटा सभाको माध्यमबाट कमिटी गठन गर्ने सुझाउ पनि दिए।
हिन्दुस्थान समाचार / हनोक