
सोनादा, 01 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय सेवा योजना (एनएसएस), सोनादा डिग्री कलेजको तत्त्वावधानमा मंगलवार कलेजको प्रेक्षागृहमा संस्कृत दिवस विविध कार्यक्रमका साथ सम्पन्न भयो। कलेजका प्राचार्य डा योगेश खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृत भाषाको महत्त्व, यसको ऐतिहासिकता तथा वर्तमान समयमा यसको उपयोगितामाथि चर्चा गरिएको थियो।
कार्यक्रममा स्रोत वक्ताका रूपमा उपस्थित सोनादा क्षेत्रका एक विशिष्ट पण्डित गणेश खनालले संस्कृत भाषाको महत्त्वमाथि प्रकाश पार्दै संस्कृत केवल हिन्दू धर्मावलम्बीहरूको मात्र भाषा नभई सम्पूर्ण मानव सभ्यताको एक प्राचीन तथा समृद्ध भाषा भएको बताए। संस्कृत भाषामा अथाह ज्ञान र विशाल शब्दभण्डार रहेको उल्लेख गर्दै उनले ‘वसुधैव कुटुम्बकम्’ जस्तो मानवतावादी मूलमन्त्र पनि संस्कृत भाषाबाटै प्राप्त भएको बताए।
आफ्नो सम्बोधनका क्रममा खनालले विद्यार्थीहरूमा संस्कृत भाषा सिक्ने इच्छा भए कलेजमै संस्कृत भाषा शिक्षणको व्यवस्था गर्न आफू सहयोग गर्न तयार रहेको बताए। आगामी वर्षको संस्कृत दिवससम्ममा विद्यार्थीहरूलाई संस्कृत भाषामै बोल्न, लेख्न तथा आफ्नो विचार व्यक्त गर्न सक्ने बनाउने उद्देश्यका साथ संस्कृत शिक्षणको पहल गर्न सकिने उनको भनाइ थियो।
दर्शनशास्त्र विभागकी प्राध्यापक पेन्चुला भोटियाले कलेज तहमा आफूले संस्कृत अध्ययन गरेको अनुभव साझा गर्दै संस्कृत भाषाको व्यापकता र महत्त्वबारे प्रकाश पारिन्। उनले बौद्ध धर्मग्रन्थलगायत विश्वका विभिन्न धर्म तथा दर्शनसम्बन्धी ग्रन्थहरू संस्कृत भाषामा रचिएको तथा संस्कृतबाट विभिन्न भाषामा अनुवाद भएको उल्लेख गरिन्।
भारतमा संस्कृत दिवस मनाउने परम्परा र यसको पृष्ठभूमिबारे जानकारी दिँदै प्रा. मेघनाथ छेत्रीले संस्कृत दिवसको महत्त्वमाथि प्रकाश पारे। उनले संस्कृत भाषा केवल प्राचीन ज्ञानको स्रोत मात्र नभई भारतीय ज्ञानपरम्परा, दर्शन, साहित्य, संस्कृति तथा सभ्यताको महत्त्वपूर्ण आधार रहेको बताए। कार्यक्रमको सञ्चालनसमेत प्राध्यापक छेत्रीले गरेका थिए।
स्रोत वक्ता गणेश खनालले संस्कृत भाषा शिक्षणका लागि कलेजमा आवश्यक पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई समर्थन गर्दै कलेजका प्राचार्य डा. योगेश खातीले कलेजमा चाँडै नै संस्कृत भाषा शिक्षणका लागि एउटा केन्द्र स्थापना गर्न सकिने बताए। संस्कृत भाषाको अध्ययनले विद्यार्थीहरूलाई प्राचीन ज्ञान, साहित्य, दर्शन र संस्कृतिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय सेवा योजना कार्यक्रम अधिकारी तथा राजनीतिशास्त्र विभागकी प्राध्यापक सुशिला बराइलीले संस्कृत दिवस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरिन्।
यस अवसरमा विद्यार्थीहरूले संस्कृत भाषामा लेखिएका विभिन्न अनमोल वाणी, सूक्ति तथा विचारहरूलाई नेपाली र अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रदर्शनसमेत गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूमा संस्कृत भाषाप्रति रुचि र जिज्ञासा बढाउनुका साथै भारतीय ज्ञानपरम्परा र संस्कृतिको महत्त्व बुझ्न सहयोग पुगेको सहभागीहरूले बताए।
कार्यक्रममा कलेजका शिक्षक शिक्षणकर्मी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक