सिक्किम सरकारी महाविद्यालय, नाम्चीमा नेपाली भाषा मान्यता उत्सव पालन
सिक्किम सरकारी महाविद्यालय, नाम्चीमा नेपाली भाषा मान्यता उत्सव पालन


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारी महाविद्यालय नाम्चीमा सोमबार ३५औँ नेपाली भाषा मान्यता उत्सव साहित्यिक, सांस्कृतिक, परिसंवाद लगायत विभिन्न कार्यक्रमसहित पालन भयो। महाविद्यालयको नेपाली विभागको आयोजनामा भएको कार्यक्रममा भाषासेवी सुकराज सुब्बा मुख्य अतिथि तथा कवि राजेन्द्र भण्डारी अतिथि वक्ताका रूपमा सहभागी थिए।

कार्यक्रममा वार्ताकार डा राजेन्द्र भण्डारीले नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्गतभुक्त गराउन भाषा सङ्ग्रामीहरूले पुर्‍याएको योगदानको चर्चा गरे। यसका साथै उनले भाषा, साहित्य र सांस्कृतिक पहिचानको संरक्षणको विषयमा जोड दिए। विद्यार्थीहरूले कविता वाचन गर्नुका साथै नेपाली, भोटिया, लेप्चा र लिम्बू विभागबाट विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रमको मुख्य आकर्षण 'भारतीय परिप्रेक्ष्यमा विद्युतीय सञ्चार माध्यममा प्रयुक्त नेपाली भाषा' विषयमा परिसंवाद रहेको थियो। डा पुष्कर पराजुली, डा योगेश खाती, डा बलराम पाण्डे र डा शिवकुमार नेपाल सहभागी छलफललाई पत्रकार एनबी घिमिरेले सञ्चालन गरेका थिए।

कार्यक्रमका मुख्य अतिथि सुकराज सुब्बाले भाषा आन्दोलनको क्रममा घटेका घटनाहरूको स्मरण गर्दै अब नेपाली भाषाको संरक्षण र विकासको जिम्मेवारी युवा पुस्तामा रहेको बताए।

यस अवसरमा कविता, निबन्ध र लघुकथा लेखन प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै नेपाली शब्दावलीसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा नेपाली विभागद्वारा प्रकाशित पत्रिका सुनगाभाको दोस्रो संस्करण पनि विमोचन गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande