नेपालमा बाढीपछि पनि लगभग ५०० विद्यार्थी सम्पर्कविहीन
रसुवा जिला का एक विद्यालय


काठमाडौं, 10 सेप्टेम्बर (हि.स.)। नेपालमा गत २६ अगस्तमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोट जिल्लाका करिब ५०० विद्यार्थी अझै सम्पर्कविहीन रहेको पाइएको छ। रसुवामा २८५ र नुवाकोटमा २२४ विद्यार्थीको हालसम्म अवस्था अज्ञात रहेको सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

रसुवा शिक्षा विकास तथा समन्वय एकाइका अनुसार, बाढी तथा अन्य विपद्पछि जिल्लाका २८५ विद्यार्थी अझै सम्पर्कमा आउन सकेका छैनन्। सम्पर्कविहीन १७ शिक्षकमध्ये एक जनाको शव फेला परेको छ। जिल्लामा ३९ विद्यार्थी यस्ता छन्, जसका दुवै अभिभावक सम्पर्कविहीन छन्।

एकाइ प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार, अभिभावक सम्पर्कविहीन भएका बालबालिकालाई आफन्तहरूले आफ्नो संरक्षणमा लगेका छन्। बाढीका कारण रसुवाका चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तीमध्ये तीन सामुदायिक र एउटा संस्थागत विद्यालय छन्।

बाढीको असर नपरेका विद्यालयमा पठनपाठन शुरु भइसकेको छ। चारदेखि पाँच विद्यालयलाई अस्थायी आश्रय केन्द्रका रूपमा प्रयोग गरिएकाले त्यहाँ हाल कक्षा सञ्चालन गरिएको छैन।

रसुवाको नौकुण्ड गाउँपालिकामा २७ अगस्तदेखि, उत्तरगयामा ९ सेप्टेम्बरदेखि, कालिकामा ७ सेप्टेम्बरदेखि तथा आमाछोदिङ्मोमा ९ सेप्टेम्बरदेखि पठनपाठन शुरु भएको छ। गोसाइँकुण्ड गाउँपालिकामा भने ११ सेप्टेम्बरदेखि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ।

पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयका विद्यार्थीलाई अन्य विद्यालयमा स्थानान्तरण गरी पढाउने तयारी भइरहेको प्रमुख सिलवालले बताए। यसका लागि आवासीय व्यवस्थासहित पठनपाठन सञ्चालन गर्ने योजना बनाइएको छ।

बाढी प्रभावित नुवाकोटमा २२४ विद्यार्थी र ११ शिक्षक अझै सम्पर्कविहीन छन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार, जिल्लाका १० विद्यालयमा क्षति पुगेको छ। तीमध्ये दुई संस्थागत विद्यालय छन्। क्षतिग्रस्त १० विद्यालयलाई हाल अस्थायी आश्रय केन्द्रका रूपमा प्रयोग गरिएको छ।

नुवाकोटमा पनि बाढीको असर नपरेका विद्यालयमा पठनपाठन शुरु भएको छ। विदुर नगरपालिकामा बिहीबारदेखि विद्यालय सञ्चालनमा आएका छन्। क्षतिग्रस्त विद्यालयका विद्यार्थीलाई वैकल्पिक व्यवस्थामार्फत पढाउने योजना बनाइएको छ।

सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिने तयारी भइरहेको खत्रीले बताए। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा १७ सेप्टेम्बरदेखि कक्षा सञ्चालन गर्ने तयारी छ। क्षतिग्रस्त विद्यालयलाई भवन वा जग्गा उपलब्ध गराएर यथाशीघ्र पुनः सञ्चालन गर्ने योजना रहेको उनले बताए।

स्थानीयवासीका सामुदायिक भवन तथा प्रदेश सरकारबाट समेत जग्गा उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ। शिक्षा मन्त्रालयले आवासीय रूपमा विद्यालय सञ्चालन गर्न बजेट प्रस्ताव पेस गर्न निर्देशन दिएको छ। अस्थायी आश्रय केन्द्र बनाइएका विद्यालयमा आधा भागमा कक्षा सञ्चालन गर्ने र बाँकी भागमा विस्थापितलाई राख्ने योजना छ।

यसैबीच, धादिङ जिल्लामा तीन शिक्षक अझै सम्पर्कविहीन छन्। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार, एक शिक्षकको शव फेला परेको छ। यसबाहेक चार पूर्वशिक्षकको शव फेला परेको छ भने दुई पूर्वशिक्षक अझै सम्पर्कविहीन छन्।

एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार, विद्यार्थीहरूको अवस्थाबारे जानकारी सङ्कलन गर्ने कार्य जारी छ। धादिङका १० विद्यालयमा क्षति पुगेको छ। विद्यार्थीलाई बिहीबारदेखि मनोसामाजिक परामर्श दिन थालिएको छ।

मनोसामाजिक परामर्शपछि मात्र विद्यालयमा कक्षा सञ्चालन गरिने श्रेष्ठले बताए। कर्मचारीलाई विद्यार्थीहरूको विवरण सङ्कलनमा परिचालन गरिएको छ।

धादिङमा बागेश्वरी माध्यमिक विद्यालय, अम्लेश्वर गुरुकुल, सक्सेस एकेडेमी, भद्रकाली गुरुकुल, जलेश्वरी माध्यमिक विद्यालय, कालीदेवी माध्यमिक विद्यालय, बुद्धिविकास प्राथमिक विद्यालय, शङ्खादेवी माध्यमिक विद्यालय, राइजिङ स्टार र धुषा सामुदायिक सिकाइ केन्द्रमा क्षति पुगेको छ।

सरकारले विपद्पछि विद्यार्थीमा उत्पन्न हुन सक्ने भय, तनाउ तथा अन्य मनोसामाजिक समस्यालाई ध्यानमा राख्दै परामर्श दिएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। शिक्षा विभागले जारी गरेको परिपत्रमा नियमित पठनपाठन शुरु गर्नुअघि विद्यार्थीको मनोसामाजिक अवस्थाको मूल्याङ्कन गर्नुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न निर्देशन दिइएको छ। विद्यार्थी नियमित कक्षामा सहभागी हुन मानसिक रूपमा तयार रहेको सुनिश्चित गरेपछि मात्र नियमित पठनपाठन सुरु गर्न विभागले स्पष्ट गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande