
काठमाडौं, १३ सेप्टेम्बर (हि.स.)। नेपाली सेनाका प्रधान सेनापति जनरल अशोक राज सिग्देलको आजदेखि चीनको औपचारिक भ्रमण शुरु हुँदैछ। प्रधान सेनापति बनेपछि उनको यो पहिलो चीन भ्रमण हो। भ्रमणका क्रममा नेपाल र चीनबीचको सैन्य सम्बन्ध तथा सहयोगका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
नेपाली सेना मुख्यालयका अनुसार, जनरल सिग्देल १३ देखि १९ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहनेछन्। उनी आइतबार एयर चाइनाको उडानमार्फत चीनको छेन्दुतर्फ प्रस्थान गर्नेछन्। चीनले एक अन्तरराष्ट्रिय सैन्य कार्यक्रममा सहभागी हुन १०० भन्दा बढी देशका सेना प्रमुख तथा सैन्य प्रतिनिधिहरूलाई आमन्त्रण गरेको बताइएको छ। जनरल सिग्देल सोही कार्यक्रममा सहभागी हुन चीन जान लागेका हुन्।
नेपाल र चीनका सेनाबीच संयुक्त सैन्य अभ्यास, तालिम, विपद् व्यवस्थापन तथा मानवीय सहायताजस्ता क्षेत्रमा सहकार्य हुँदै आएको छ। यस्तो अवस्थामा नेपाली सेना प्रमुखको यो भ्रमणलाई दुवै देशबीचको सैन्य सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।
जनरल सिग्देल १९ सेप्टेम्बरमा नेपाल फर्किनेछन्। उनको यो भ्रमणलाई बदलिँदो क्षेत्रीय सुरक्षा परिस्थिति तथा छिमेकी मुलुकहरूसँग सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने सन्दर्भमा पनि महत्वपूर्ण मानिएको छ।
हिन्दुस्थान समाचार / बिशाल