
इस्लामाबाद, १३ सेप्टेम्बर (हि.स.)। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले २३ सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्र महासभा (यूएनजीए-८१) को ८१औँ सत्रका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। उनलाई न्यूयोर्क प्यालेस होटलमा यूएनजीए-८१ मा सहभागी हुने राष्ट्राध्यक्षहरूका लागि आयोजना गरिने रात्रिभोजमा सहभागी हुन निमन्त्रणा गरिएको छ।
द न्युजको रिपोर्टअनुसार, राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले २३ सेप्टेम्बर साँझ म्याडिसन एभिन्यूस्थित लोटे न्यूयोर्क प्यालेस होटलमा यूएनजीए-८१ मा सहभागी हुने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूका लागि रात्रिभोज आयोजना गर्नेछन्। शहबाजलाई यसका लागि निमन्त्रणा प्राप्त भएको छ।
राष्ट्रपति ट्रम्पसँग उनको यो भेट इजिप्टको शर्म अल-शेखमा बोर्ड अफ पीसको बैठकपछि सात महिनामा हुने पहिलो भेटवार्ता हुनेछ। शहबाज रात्रिभोजको एक दिनअघि लन्डनबाट न्यूयोर्क पुग्नेछन् र २५ सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन्।
शरीफले यस अवसरमा सिन्धु जल सन्धि र कश्मीरको मुद्दा उठाउन सक्नेछन्। गत महिना मक्कामा पाकिस्तान, साउदी अरब र टर्कियाबीच भएको त्रिपक्षीय सामूहिक सुरक्षा व्यवस्थाबारे पनि उनले उल्लेख गर्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल