होर्मुजको नयाँ समुद्री मार्गसम्बन्धी क्षेत्रीय बैठक स्थगित, बहरेनद्वारा वार्तामा सहभागी हुन अस्वीकार
सांकेतिक


मस्कट/सलालाह, १४ सेप्टेम्बर (हि.स.)। होर्मुज जलडमरूमध्यमा नयाँ समुद्री मार्गसम्बन्धी इरान र खाडी मुलुकहरूबीच प्रस्तावित क्षेत्रीय बैठक स्थगित गरिएको छ। ओमानको सलालाहमा हुने तय भएको उक्त बैठकअघि बहरेनले इरानसँग सामूहिक मन्त्रीस्तरीय वार्तामा सहभागी हुन अस्वीकार गरेपछि मस्कटले बैठक स्थगित गर्ने निर्णय गरेको हो।

तुर्किएको सरकारी समाचार एजेन्सी अनाडोलूका अनुसार, ओमानको विदेश मन्त्रालयले आइतबार राति ढिलो बैठकलाई “रचनात्मक संवादका लागि उपयुक्त वातावरण” सिर्जना गर्ने उद्देश्यले अर्को मितिसम्मका लागि स्थगित गरिएको जनाएको छ। यद्यपि, बैठकको नयाँ मिति घोषणा गरिएको छैन।

ओमानका विदेशमन्त्री बद्र अल-बुसैदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत क्षेत्रीय सहमति निर्माण गर्न बैठक स्थगित गरिएको बताएका छन्। उनले ओमान क्षेत्रीय स्थायित्व तथा दीर्घकालीन सहकार्यलाई सुदृढ़ बनाउने संवादलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए।

बैठक स्थगित हुनुअघि बहरेनले इरानसँग प्रस्तावित सामूहिक मन्त्रीस्तरीय वार्तामा सहभागी हुन अस्वीकार गरेको थियो। बहरेनको विदेश मन्त्रालयले दुवै देशबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना नभएसम्म मनामाले इरानसँग यस्ता कुनै सामूहिक बैठकमा भाग नलिने स्पष्ट पारेको छ।

उल्लेखनीय छ, प्रस्तावित बैठकमा बहरेन, इरान, इराक, संयुक्त अरब इमिरेट्स, ओमान, कतार, साउदी अरब र कुवेत सहभागी हुने अपेक्षा गरिएको थियो।

इरानका विदेशमन्त्री अब्बास अरागचीले बैठकको मुख्य तथा एकमात्र एजेन्डा होर्मुज़ जलडमरूमध्यमा नयाँ समुद्री मार्गको व्यवस्था रहेको बताएका छन्।

अरागचीका अनुसार, इरान र ओमानले नयाँ समुद्री मार्ग निर्धारण गर्ने सम्झौतालाई अन्तिम रूप दिएका छन्। दुवै देशले उक्त मार्गको नक्सा तथा सञ्चालनसम्बन्धी व्यवस्थाबारे जानकारी समेटिएको संयुक्त वक्तव्य पनि जारी गरेका छन्। उनले ओमानसँग भएको सम्झौता होर्मुज़ जलडमरूमध्य पुनः खोलिनु सरह नभएको स्पष्ट पारे।

होर्मुज़ जलडमरूमध्य विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापार मार्गहरूमध्ये एक हो। अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य तनाउका बीच यस जलमार्गको सुरक्षा र आवागमनबारे खाडी मुलुकहरूको चिन्ता बढेको छ।

इरानले यसअघि बहरेनस्थित अमेरिकी सैन्य अड्डासँग सम्बन्धित मानिएका केही स्थानहरूलाई निशाना बनाएको थियो। तीमध्ये ईसा एयर बेस पनि समावेश थियो। तेहरानले ती आक्रमणहरूलाई इरानी लक्ष्यहरूमाथि भएको अमेरिकी आक्रमणको जवाफ भएको जनाएको थियो।

यस्तो अवस्थामा बहरेनले इरानसँगको सामूहिक वार्ताबाट दूरी बनाउनु र त्यसपछि ओमानले बैठक स्थगित गर्नु क्षेत्रीय कूटनीतिका लागि महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।

हालसम्म ओमानले बैठकको नयाँ मिति वा बैठक स्थगित गर्नुका कुनै विशेष कारणबारे आधिकारिक जानकारी दिएको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande