
काठमाडौं, १४ सेप्टेम्बर (हि.स.)। हरितालिका तीज पर्वका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भगवान् पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि व्रती महिला श्रद्धालुको ठूलो भीड लागेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार, हरितालिका तीजको व्रत बस्ने महिलाको सुविधालाई ध्यानमा राख्दै आज बिहान ३ बजीदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्।
मन्दिरमा प्रवेश गर्ने श्रद्धालुका लागि चारवटा छुट्टाछुट्टै दर्शन मार्ग बनाइएको छ। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार, पहिलो मार्गअन्तर्गत मित्रपार्क-उमाकुण्ड-दक्षिणामूर्ति-कैलाश बद्रीनरसिंह भवन हुँदै वासुकीनाथको उत्तर दिशामा रहेको ढोकाबाट श्रद्धालुलाई मन्दिरको उत्तरतर्फको र्याम्पसम्म लगिने व्यवस्था गरिएको छ। त्यहाँबाट भगवान् पशुपतिनाथको दर्शन गराएपछि श्रद्धालुलाई पश्चिमी ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ।
दोस्रो मार्गमा जयबागेश्वरीबाट बायाँतर्फ दथुटोल, पाचा गणेश, अन्नपूर्णा भण्डार र महास्नानघरको अगाडि बनाइएको आकाशे पुल हुँदै भुवनेश्वरी र नासलचोकबाट शंकराचार्य मठको अगाडि बनाइएको आकाशे पुलसम्म श्रद्धालुलाई लगिनेछ। त्यहाँबाट पुलिस पहरा गणको सानो ढोका र दुईवटा लाइनमार्फत पशुपति मन्दिरको पश्चिमी भागमा बनाइएको काठको र्याम्पबाट दर्शन गराएपछि पश्चिमी ढोकाबाट बाहिर निकालिने व्यवस्था गरिएको छ।
त्यसैगरी, तेस्रो मार्ग सिनामंगल र विमानस्थलतर्फबाट आउने श्रद्धालुका लागि व्यवस्था गरिएको छ। उनीहरूलाई तिलगंगा पर्यटन काउन्टरनजिक रहेको ढोका, राम मन्दिर र बागमती नदीको किनार हुँदै आर्यघाट पुलबाट ब्रह्मनालसम्म लगिनेछ। त्यसपछि पूर्वी ढोकामा बनाइएको र्याम्पबाट भगवान् पशुपतिनाथको पूर्वी स्वरूपको दर्शन गराएर त्यही ढोकाबाट बाहिर निकालिनेछ।
त्यस्तै, पिङ्गलास्थानतर्फबाट आउने श्रद्धालुका लागि पिङ्गलास्थानस्थित ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ। त्यहाँबाट चार शिवालय र पञ्चदेवल वृद्धाश्रमको दक्षिणतर्फ बनाइएको ठूलो ढोकाको अगाडि अस्थायी आकाशे पुलमार्फत सानो ढोकाबाट श्रद्धालुलाई चौंसट्ठी कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिणी स्वरूपको दर्शन गराइनेछ। त्यसपछि उन्मत्त भैरव मन्दिरको पश्चिमी भाग र मूल भट्ट निवासको अगाडिबाट श्रद्धालुलाई बाहिर निकालिने व्यवस्था गरिएको छ।
कोषका अनुसार, बिहानको समयमा श्रद्धालुहरू बिना धेरै कठिनाइ लाइनमा बसेर भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन्। करिब आधा घण्टासम्म लाइनमा बसेपछि व्रती महिलाहरूले दर्शन गरेर फर्किन सकिरहेका छन्।
बिहानको समयमा वर्षा भइरहे पनि महिला श्रद्धालुको उत्साहमा कुनै कमी देखिएको छैन। उनीहरू वर्षाका बीच पनि लाइनमा बसेर भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल