
बेइजिङ, १५ सेप्टेम्बर (हि.स.)। चीनले ताइवानका अधिकारी र चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूबीच हुने कुनै पनि प्रकारको आधिकारिक सम्पर्कको कडा विरोध गरेको छ। चीनले आफ्नो आन्तरिक मामिलामा कुनै पनि बाह्य शक्तिलाई हस्तक्षेप गर्न अनुमति नदिने स्पष्ट पारेको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन्। उनले पनामा र ताइवानसँग सम्बन्धित एक सञ्चारमाध्यमको समाचारबारे प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
समाचारअनुसार, पनामाका केही सांसदले हालै तथाकथित ‘पनामा-ताइवान संसदीय आदान-प्रदान समूह’ गठन गरेका छन्। अमेरिकी सांसदहरूले भिडियो सम्पर्कमार्फत उक्त समूहको शुभारम्भ कार्यक्रममा समेत सहभागिता जनाएको बताइएको छ।
यद्यपि, पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले यस विषयमा देशको विदेश नीति तथा वैदेशिक सम्बन्धसम्बन्धी निर्णय कार्यपालिका अर्थात् सरकारले गर्ने बताएका छन्। उनले सांसदहरूको ताइवानसँग सम्पर्क हुनु अनिवार्य रूपमा पनामा सरकारको समर्थनको संकेत नहुने स्पष्ट पारेका छन्।
गुओ जियाकुनले विश्वमा एउटै चीन रहेको र ताइवान चीनको भूभागको अभिन्न हिस्सा रहेको बताए। उनले केही राजनीतिज्ञलाई ताइवान मुद्दाको वास्तविकता बुझ्न आग्रह गर्दै यस विषयमा ‘सीमा नाघे’ गम्भीर परिणाम भोग्नुपर्ने चेताउनी दिए।
चिनियाँ प्रवक्ताले तथाकथित संसदीय आदान-प्रदान समूहको गठनलाई ‘एक चीन’ सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताए। उनले चीनले पनामा सरकारको भनाइबारे ध्यान दिएको उल्लेख गर्दै चीन-पनामा सम्बन्धको राजनीतिक आधार कायम राख्न पनामाले ठोस कदम चाल्ने तथा ‘एक चीन’ सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्ने अपेक्षा व्यक्त गरे।
चीनले यस विषयमा अमेरिकालाई समेत चेताउनी दिएको छ। गुओले अमेरिकालाई ‘एक चीन’ सिद्धान्त तथा चीन र अमेरिकाबीच भएका तीनवटा संयुक्त विज्ञप्तिको पालना गर्न आग्रह गरे।
उनले अमेरिकालाई ‘ताइवानको स्वतन्त्रता’ को माग गर्ने पृथकतावादी शक्तिहरूलाई गलत सन्देश दिन बन्द गर्न तथा चीन-पनामा सम्बन्धमा हस्तक्षेप गर्ने वा त्यसलाई क्षति पुर्याउने गतिविधिबाट टाढा रहन आग्रह गरे।
चीनले लामो समयदेखि ताइवानसँग अन्य देशले गर्ने आधिकारिक सम्पर्कको विरोध गर्दै आएको छ। बेइजिङले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने ताइवान सरकारले आफूलाई लोकतान्त्रिक रूपमा शासित क्षेत्रका रूपमा प्रस्तुत गर्दै आएको छ। यही विषयलाई लिएर चीन र अमेरिकाबीच पनि लामो समयदेखि तनाव रहँदै आएको छ।
हिन्दुस्थान समाचार / बिशाल