
काठमाडौं, १५ सेप्टेम्बर (हि.स.)। नेपालका वित्तमन्त्री स्वर्णिम वाग्ले १७ सेप्टेम्बरमा दुईदिने भारत भ्रमणका लागि नयाँ दिल्ली जाने भएका छन्। भारतीय वित्तमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन्।
नेपाल सरकारका अनुसार, भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक सहकार्य, द्विपक्षीय सम्बन्ध तथा विपद्पछिको पुनर्निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण छलफल हुने सम्भावना छ। विशेषगरी नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षति र त्यसपछि गर्नुपर्ने पुनर्निर्माणका विषयमा दुवै पक्षबीच छलफल हुने बताइएको छ।
अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय अधिकारीहरूसँग द्विपक्षीय बैठक गर्नेछन्। यसका साथै उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बैठकमा नेपाल र भारत आर्थिक सहकार्य, विकास परियोजना तथा विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विभिन्न विषयमा छलफल हुने सम्भावना छ।
वाग्ले कन्फेडरेशन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गर्ने एक कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन्। त्यस क्रममा उनले नेपालको आर्थिक अवस्था, लगानीका अवसर तथा दुवै देशबीच आर्थिक एवं व्यापारिक सहकार्यलाई थप सुदृढ बनाउने सम्भावनाबारे आफ्नो धारणा राख्नेछन्।
नेपालमा हालै आएको भोटेकोशी बाढीका कारण ठूलो मात्रामा जनधन तथा पूर्वाधारमा क्षति पुगेको छ। यस्तो अवस्थामा वाग्लेको भारत भ्रमण विपद्पछिको पुनर्निर्माणका लागि सहयोग तथा आर्थिक सहायता जुटाउने दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।
हिन्दुस्थान समाचार / बिशाल