
अमृतसर, १६ सेप्टेम्बर (हि.स.)। पञ्जाब पुलिसको काउन्टर इन्टेलिजेन्स टोलीले लागूपदार्थ तथा अवैध हतियार तस्करी विरुद्ध ठूलो कारबाही गर्दै सीमापारबाट सञ्चालित एक तस्करी सञ्जालको पर्दाफास गरेको छ। कारबाहीका क्रममा चार जनालाई पक्राउ गरिएको छ। उनीहरूको कब्जाबाट २७ किलो हेरोइन, विदेशमा निर्मित .३० बोर पीएक्स५ पेस्तोल र तीन गोली जफत गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्रा पर्नेहरू सीमापार रहेका तस्करहरूको सम्पर्कमा रहेको र उनीहरूको निर्देशमा लागूपदार्थको खेप अन्य व्यक्तिसम्म पुर्याउने काम गरिरहेको संकेत पुलिसले पाएको छ। अनुसन्धानमा उक्त सञ्जालको दुबईमा रहेका एक व्यक्तिसँग समेत सम्पर्क रहेको खुलेको बताइएको छ। पक्रा पर्नेहरूको भूमिका केवल आपूर्ति पुर्याउने काममा सीमित थियो वा उनीहरू सञ्जालका अन्य गतिविधिसँग पनि जोड़िएका थिए भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ।
कारबाहीपछि राज्य विशेष सञ्चालन कोष्ठक पुलिस थानामा मुद्दा दर्ता गरिएको छ। पक्रा पर्नेहरूसँग सोधपुछ गरी सञ्जालका अन्य सदस्य, आपूर्ति शृङ्खला तथा आर्थिक कारोबारबारे जानकारी सङ्कलन भइरहेको छ।
पुलिसले २७ किलो हेरोइनको खेप कुन बाटो हुँदै पञ्जाब पुगेको थियो र त्यसलाई थप कस–कसलाई पुर्याउने योजना थियो भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ। यसका साथै पक्राउ परेकाहरूका विगत तथा पछिल्ला सम्पर्कहरूको समेत जाँच भइरहेको छ। अवैध हतियार जफत भएकाले ती हतियार कसलाई पुर्याउने योजना थियो तथा उक्त सञ्जालको कुनै संगठित आपराधिक गिरोहसँग सम्बन्ध छ कि छैन भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको पुलिसले जानकारी गराएको छ।
पञ्जाब पुलिसले सीमापारबाट हुने लागूपदार्थ तथा हतियार तस्करीमाथि निरन्तर निगरानी भइरहेको र यस्ता सञ्जाल विरुद्ध कारबाही आगामी दिनमा पनि जारी रहने जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी