
नयाँ दिल्ली, १६ सेप्टेम्बर (हि.स.)। कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले अमेरिकी कर तथा व्यापार नीतिलाई लिएर केन्द्र सरकारको आलोचना गरेका छन्। उनले सरकार अमेरिकी दबाबसामू झुकिरहेको आरोप लगाउँदै यसको असर देशका १४० करोड़ नागरिक, किसान तथा उद्योगहरूले भोग्नुपरिरहेको दाबी गरेका छन्।
खरगेले बुधवार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भनेका छन्, भारतीय वस्तुमाथि अमेरिकाले १०० प्रतिशतसम्म कर लगाउने हालै दिएको चेतावनी सरकारको विदेश तथा व्यापार नीतिको असफलता दर्शाउछ। उनी अनुसार, पहिले २५ प्रतिशत, त्यसपछि ५० प्रतिशत हुँदै अहिले १०० प्रतिशत करको खतरा देखिएको छ। यसबाट औषधि उद्योग, कपड़ा, इन्जिनियरिङ समान, रसायन, मोटरका पार्टपुर्जा, रत्न तथा आभूषण, विद्युतीय सामग्री र प्रविधिजस्ता महत्वपूर्ण क्षेत्रमा ठूलो असर पर्नसक्ने उनले बताए।
कांग्रेस अध्यक्षले एकातिर भारतीय वस्तुमाथि भारी आयात शुल्कको खतरा रहेको र अर्कोतिर मोदी सरकारले भारतीय कृषि क्षेत्रमा अमेरिकी उत्पादनको पहुँच सहज बनाउने व्यापारिक संरचनामा सहमति जनाएको आरोप लगाए। खरगेले यसलाई देशका किसानको हितलाई जोखिममा पार्ने कदमका रूपमा व्याख्या गरेका छन्। उनले उक्त व्यापार सम्झौता अन्तर्गत भारतलाई आगामी पाँच वर्षमा ५०० अरब अमेरिकी डलर बराबरका अमेरिकी वस्तु खरिद गर्न बाध्य पारिएको दाबी समेत गरे।
खरगेले यूपीआईमा व्यापारी छुट दर (एमडीआर) को विषयलाई सरकारको कमजोरीको ताजा उदाहरणका रूपमा प्रस्तुत गरे। उनले कर तथा व्यापारदेखि एच–१बी भिसा र डिजिटल भुक्तानीसम्मका विषयमा वाशिङ्टनको दबाब निरन्तर बढ़िरहेको दाबी गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी