
काठमाडौं, १६ सेप्टेम्बर (हि.स.)। नेपालको मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान करिब साढे दुई घण्टाको अन्तरालमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, मुगुको कालै क्षेत्रलाई केन्द्रबिन्दु बनाएर राति १ बजेर ५१ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि बिहान ४ बजेर २८ मिनेटमा सोही स्थान छेउछाउ ४.२ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दुवै भूकम्पबीच करिब साढे दुई घण्टाको अन्तर रहेको जानकारी दिए। उनका अनुसार, ४.५ र ४.२ रेक्टर स्केलका भूकम्पबाट सामान्यतया ठूलो क्षति हुने सम्भावना कम हुन्छ। यद्यपि, सर्वसाधारणलाई सतर्क रहन आवश्यक रहेको उनले बताए।
अधिकारीका अनुसार, प्रत्येक ठूलो भूकम्पपछि पराकम्प जाने गर्छन्। ४ रेक्टर स्केलको भूकम्प गएको क्षेत्रमा त्यसपछि ३, २ र १ रेक्टर स्केलका धेरै साना भूकम्प जान सक्ने उनले बताए। गत साता मुस्ताङ जिल्लामा गएको भूकम्पपछि हालसम्म करिब २० देखि २२ वटा पराकम्प रेकर्ड भइसकेको पनि उनले जानकारी दिए।
उल्लेखनीय छ, गत ८ सेप्टेम्बर राति ९ बजेर ५३ मिनेटमा मुस्ताङमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल